सन्दर्भ विश्व बिरामी दिवस : स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्ज्वलन


न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व व्यापी रुपमा कोरोना भाइरस संक्रमणका कारण आम मानव जातिको सहारा र भरोसा बन्दै आएका स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रीत भएर यस बर्षको बिश्व बिरामी दिवस दीप प्रज्ज्वलन गरि मनाईँदैछ ।

सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर बिरामी दिवस मनाइँदै आएको हो ।

विगतमा जस्तो यस बर्ष बिरामीलाई फलफुल बाँडेर नभै बिरामीको सेवामा अहोरात्र जीवननै जोखिममा पारेर खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, नर्स, एम्बुलेन्स चालक, सरसफाईमा जुटेका कर्मचारीहरुको स्वास्थ्य सुरक्षाले मात्र आम नागरिकले स्वस्थ्य सेवा पाउँछन् भन्ने उदेश्यका साथ यस वर्षको बिरामी दिवस स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीमा समर्पित गरिएको छ ।

नेपालमा यो दिवसलाई फरक ढंगले ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ नाराका साथ देशभरिका स्वास्थ्यकर्मीको सम्मान झल्कने गरि विहिवार साँझ ७ बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गरि यो दिवस मनाउन लागिएको स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले बताउँनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनका लागि बेलुकी ८ बजे आ–आफ्नो घरमा दिपावली गर्न पनि सबैलाई अपिल गर्नुभयो ।

सोही अवधिमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्नुका साथै कोरोनाबाट मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिने उहाँले बताउनुभयो ।

वास्तवमै नेपालमा बिना तालिम, उपकरण, पिपिईका बाबजुद् पनि स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो घर, परिवार, आफन्तलाई समेत टाढा राखेर कोरोना संक्रमितको उपचारमा खटिएकै कारण आज स्वास्थ्यकर्मी, कर्मचारीहरु स्वयम र उहाँहरुको परिवार समेत संक्रमित भएको अवस्थामा पनि बिरामीको सेवामा अनवरत खटिएकै कारण सर्वसाधारणले स्वास्थ्य सेवा पाएका छन् ।

यो अवस्था आजै टुंगिने पनि देखिन्न र निरन्तर स्वास्थ्य सेवामा खटिने योद्धाहरुको मनोबल बढाउनका लागि यस्ता प्रोत्साहीत गर्ने र सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने डा.पोखरेलले बताउँनुभयो ।