सदस्य–सचिवद्वारा ललितको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौं, (नेस)

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय टोलीका क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल पुगी सदस्य–सचिव सिलवालले उनको अवस्थाबारे जानकारी लिएका हुन्। सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसँग भेट गरी उनको स्वास्थ्य उपचारमा कुनै पनि कुराको अभाव नगराउन अनुरोध गरेका छन्।

त्यस्तै, सिलवालले ललितका परिवारसँग भेटी उपचारका सम्बन्धमा चिन्ता नगर्न र उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उक्त भेटमा नेपाल क्रिकेट संघका सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का पनि उपस्थित थिए।