ब्राभोलाई विशेष स्वागत


यूएई, (एजेन्सी)
नेपालका सन्दीप लामिछानेसहित कैयौं खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्न यूएई पुगेका छन्। हरेक खेलाडीलाई स्वागत त्यहाँ राम्रै भयो। तर, वेस्टइन्डिजका बलर ड्वायन ब्राभोलाई भने बेग्लै तरिकाले स्वागत गरिएको छ। आईपीएलको टिम चेन्नई सुपर किंग्स (सीएसके) ले उनका लागि विशेष उपहार तयार गरेको थियो।
ब्राभोका लागि सीएसकेले केकको बन्दोबस्त गरेको थियो। सो केक सानो क्रिकेट रंगशाला जस्तै थियो। उनले टी–२० क्रिकेटमा ५ सय विकेट लिएको उपलब्धिमा उनलाई बधाई दिइएको थियो। सो भिडियोको क्याप्सनमा ब्राभोले लेखेका थिए– ‘च्याम्पियन वेलकम, फेरि चेन्नईसँग आबद्ध हुँदा खुसी लाग्यो।’
ब्राभोले क्यारिबियन प्रिमियर लिग (सीपीएल) दौरान ५ सय विकेट लिएका थिए । उनी टी–२० मा ५ सय विकेट लिने विश्वका पहिलो बलर पनि बनेका छन्। उनले सीपीएलमा १० खेलमा ९ विकेट लिएका थिए। उनको टिम च्याम्पियन बनेको थियो। उनले आईपीएलमा १ सय ३४ खेलमा १ सय ४७ विकेट लिएका छन्।
यसपटक कोरोना भाइरसका कारण आईपीएलको भेन्यू परिवर्तन गरिएको छ। भारतमा हुने सो टी–२० लिग यूएईमा हुने भएको हो। कति पटक त आईपीएल रद्द गर्न निर्णय लिइएको थियो। तर, पछि यूएई सरकारले प्रतियोगिता आयोजना गर्न चासो लिएपछि आईपीएलको आयोजना यूएईमा हुने निश्चित भएको हो।