सवारी चालकलाई ट्राफिकको ‘नमस्कार’


अमृत अर्याल, स्याङ्जा

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले स्याङ्जाका सवारी चालकहरुलाई नमस्कारको अभियान एक कार्यक्रमका बीच शुरु गरेको छ । नमस्कारको अभियान ट्राफिक प्रहरीको पहिचान भन्ने मूल उद्देश्यका साथ ट्राफिक स्याङजाले शुरु गरेको हो ।

जिल्लालाई दुर्घटना रहित जिल्ला बनाउने उद्देश्यले चालक वर्गलाई नमस्कारको अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक कर्मबहादुर चुनाराले जानकारी दिनुभयो । सई चुनाराले चालकवर्गलाई व्यवहारमा सम्मान र कारबाहीमा कडा गर्दै आइरहेको बताउनुभयो ।

सडकमा हुने सवारी दुर्घटनालाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले पुतलीबजार नगरपालिका–४ रामकोषमा र ११–
करेण्डाँडामा सचेतना बोर्ड राखेको छ । सचेतना बोर्डमा ‘दुर्घटना ग्रस्त क्षेत्र’, ‘तीव्र गति ः जीवन क्षति’ र ‘गति सिमित २०’ मात्र लेखिएको ट्राफिक कार्यालयका प्रहरी जवान हेमबहादुर मल्लले जानकारी दिनुभयो ।

विभिन्न समयमा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले उल्लेखनीय तथा रचनात्मक कार्य गरे पनि सवारी दुर्घटनारहित जिल्ला बनाउने उद्देश्यले दुर्घटनाग्रस्त क्षेत्रमा सचेतना २ वटा बोर्ड तथा होर्डिङ बोर्ड राखेको यो पहिलो पटक हो ।

स्याङ्जा जिल्लामा जिल्ला भित्रिने तथा बाहिरने सवारी साधनहरु बस, ट्रक, जिप, ट्याक्टर र रिक्सालगायत गरी करिब दैनिक २ हजार रहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ । १५ जना मात्र जनशक्ति रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कोरोनाको समयमा करिब १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको छ ।