ओसाकाले जितिन् यूएस ओपन


न्युयोर्क, (एजेन्सी)

विश्व नम्बर ९ खेलाडी जापानकी नाओमी ओसाकाले न्युयोर्कमा भएको यूएस ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन्।

ओसाकाले आइतबार बिहान भएको वोमेन्स सिंगल्स फाइनलमा बेलारूसकी भिक्टोरिया अजारेन्कालाई १–६, ६–३, ६–३ ले हराएकी हुन्। ओसाका २६ वर्षमा पहिलो सेट हारेर फाइनल जित्ने पहिलो खेलाडी बनेकी छन्।
योसँगै ओसाकाले ३ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरिन्।

जबकि, यो गत वर्षको तुलनामा ८ दशमलव ५० लाख अमेरिकी डलर कम हो। यसपटक कोरोना भाइरसको महामारीका कारण पुरस्कार रकममा कटौटी गरिएको हो।

२२ वर्षीया ओसाकाको यो करियरको तेस्रो ग्रान्डस्लाम हो। यसअघि २०१८ मा यूएस ओपन जितेकी उनले अर्को वर्ष अस्टे«लियन ओपन जितेकी थिइन्। यूएस ओपनको फाइनलमा उनले ६ पटककी विजेता सेरेना विलियम्सलाई हराएकी हुन्।

ओसाकाले पहिलो सेट १–६ ले गुमाएकी थिइन्। यसपछि उनले खेलमा पुनरागमन गर्दै बाँकी दुई सेट जित्न सफल भइन्। ७ वर्षपछि पहिलोपटक ग्रान्डस्लाम फाइनलमा पुगेकी अजारेन्काविरुद्ध उनी पहिलो सेटमा कमजोर बनेकी थिइन्।

अजारेन्काले यसअघि २०१२ र २०१३ को अस्टे«लियन ओपन जितेकी छन्। पछिल्लो महिनामा उनले सिनसिनाटी मास्टर्सको उपाधि जितेकी थिइन्। सो प्रतियोगिताको फाइनलमा पनि ओसाकासँगै फाइनल खेल्नुपर्ने थियो। तर, ओसाकाले ह्यामस्ट्रिङका कारण फाइनल नखेलेपछि अजारेन्कालाई विजेता घोषित गरिएको थियो।

हारको बाबजुद अजारेन्काले निराश नभएको बताइन्। तर, दुःखी भएको भन्दै उनले भनिन्– ‘म नजिक पुगेर पनि जित्न सकिनँ। म यसलाई लिएर धेरै सोचिरहेकी छैन। मैले जिते या हारेँ यसमा धेरै सोच्नु पनि हुँदैन। यो केवल एक अनुभव हो। मेरो सामुन्ने २ साताको सानदार समय थियो। मैले यसको भरपुर मजा उठाएकी छु।’

अजारेन्काले उपाधिकै प्रमुख दाबेदार सेरेना विलियम्सलाई हराएर फाइनलमा स्थान बनाएकी थिइन्। सेरेनालाई हराएपछि उनलाई उपाधिको दाबेदारको रूपमा हेरिएको थियो। उनले पहिलो सेटमा सानदार खेल पस्केकी थिइन्।

तर, दोस्रो सेटमा ३–० ले अग्रता लिए पनि उनले सो सेट रक्षा गर्न सकिनन्। ओसाकाले लगातार ६ गेम जितेर दोस्रो सेट हात पारेकी हुन्। तेस्रो तथा निर्णायक सेटमा ओसाका ५–१ को अग्रतामा पुगेसँगै अजारेन्काको उपाधि जित्ने आशा समाप्त भएको थियो।