फेसबुकमा राम्रो फोटो राखेर लभ पारेपछि…


नेपाल समाचारपत्र, बाँके

बर्दियाकी ३३ वर्षीया आशिककुमारी चौधरीले अर्कैको राम्रो फोटो राखेर नक्कली फेसबुक आईडी बनाइन् ।
राम्री केटीको फोटो देखेपछि नवलपरासीका युवा फेसबुकमा जोडिन आइपुगे । आशिककुमारी पनि के कम, गफ गर्न थालिन् । सामान्य चिनजानबाट शुरु भएको कुराकानी मायाप्रेमसम्म पुग्यो । च्याटमात्रै होइन, फोनमा कुरा हुन थाले ।

दुवै जनाले लामो कुराकानी गर्न थाले, भेटेर रोमान्स गर्नेसम्मको । आशिककुमारीले आफ्नो व्यापार, व्यवसाय राम्रो भएको गफ दिन्थिन् । आफ्नै गाडी भएको बताउँथिन् । उनले आफ्नो उमेर २२ वर्ष बताएकी थिइन् । जवान केटी, व्यापार व्यवसाय राम्रो भएको र गाडीसमेत भएको भनेपछि केटा त्यसै मोहित हुने भए नै । उनले भिडियो कल गर्ने प्रयास गर्न थाले । केटी भिडियो कलमा आइनन् । किनकि, उनी फेसबुकमा देखिएकी केटी थिइनन्, न त २२ वर्षकी नै थिइन् । उनी त दुई सन्तानकी आमा थिइन् ।

केटाले भेट्ने कुरा गर्थे । केटी टारिरहन्थिन् । अति नै कर गरेपछि केटीले अर्को गफ दिइन्, मेरो पोखरामा पनि घर छ । त्यहाँ जाने बेलामा बाटोमा भेटौंला र सँगै पोखरा जाऔंला । केटा त्यसै मख्ख परे । छिटो आउन भन्न थाले ।
भदौ २६ गते उनले घरबाट निस्केको जानकारी दिइन् । आफ्नै गाडीमा जाने क्रममा चन्द्रौटामा पुगेपछि अपहरणमा परेको बताइन् । केटा आत्तिए । केटीले प्रहरीलाई आफू अपहरणमा परेको जानकारी गराइन् ।

कुरा बाँके प्रहरीमा मात्रै सीमित रहेन, प्रदेश हुँदै हेडक्वाटरसम्म पुग्यो । प्रहरीले रातभरि अप्रेसन चलायो । प्रदेशका डीआईजी र हेडक्वाटरका उच्च अधिकारीहरु राती अबेरसम्म जागाराम बसे, खोजतलासमा लागिरहे ।
केटीको फोनको लोकेसन नेपालगन्ज नै देखाइरहेको थियो ।

धेरै मेहनतपछि प्रहरीले केटीलाई नेपालगन्जको फुल्टेक्रामा फेला पा¥यो । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, आशिककुमारीले केटाले भेट्न कर गर्न थालेपछि आफूले नाटक गरेको बताएकी छन् । आशिककुमारीको फेसबुक आईडी आफ्नो थिएन, न त फोटो नै थियो । केटाले देख्दा नराम्रो भनेर झस्किने भएकाले उनले अपहरणको नाटक गरेकी थिइन् ।
अपहरणको नाटक गरेर प्रहरीलाई दुःख दिएकाले प्रहरीले आशिककुमारीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।