आयुर्वेदिक स्यानिटाइजर उत्पादन शुरु


तनहुँ, (नेस)
आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । सात थरिका जडीबुटीको प्रयोगबाट आयुर्वेदिक स्यानीटाइजर उत्पादन थालिएको हो ।
पहिलो चरणमा ९ दिन लगाएर आयुर्वेदले स्यानिटाइजर तयार गरेको आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. रामप्रबोध मण्डलले जानकारी दिनुभयो । मण्डलका अनुसार घ्युकुमारी, तितेपाती, निम, फिटकिरी, लेमनग्रास, लसुन र दहीको प्रयोग गरेर स्यानिटाइजर बनाइएको हो ।
एलोप्याथिक स्यानिटाइजरमा ७७ प्रतिशत अल्कोहल मिसावट हुने भए पनि यो स्यानिटाइजर पूर्णरुपमा आयुर्वेदिक भएको उहाँको दाबी छ । ‘पहिलो चरणमा १ सय एमएलको १ सय थान मात्रै उत्पादन गरिएको र उपभोक्ताले रुचाएमा उत्पादन बढाएर बजारमा विक्रीवितरणका लागि लगिनेछ।’ –डा. मण्डलले बताउनुभयो ।
आयुर्वेद केन्द्र व्यवस्थापन समिति तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले अल्कोहलको प्रयोग गर्न नरुचाउने व्यक्तिका लागि पनि यो उपयुक्त रहेको बताउनुभयो । ‘कैयौं मानिसहरुले अल्कोहल प्रयोग गर्नु हुँदैन, जस्तो कि पण्डितहरुले पनि अल्कोहल प्रयोग गर्नुहुन्न, यसका लागि आयुर्वेदिक स्यानिटाइजर उपयुक्त छ।’ –बस्नेतले भन्नुभयो ।
पहिलो चरणमा उत्पादित स्यानिटाइजर निःशुल्करुपमा विभिन्न कार्यालय, स्थानीय तहहरुमा उपलब्ध गराइने बताइएको छ । उपभोक्ताले उपयुक्त र माग गरेमा यसलाई व्यावसायिकरुपमा उत्पादन गर्ने तयारी गरिएको आयुर्वेदले जनाएको छ ।