टेकु ट्रान्सफर स्टेसन फोहोर शून्य


काठमाडौं, (नेस)

काठमाडौं महानगरले फोहोर संकलन र ढुवानीका लागि प्रयोग गर्दै आएको टेकुस्थित ट्रान्सफर स्टेसन अहिले फोहोर शून्य भएको छ ।

बर्खायाममा यो अवस्था ल्याउनु सजिलो काम नभए पनि कोभिड महामारीका बेलामा सबै कर्मचारीले काम गरेकाले यो अवस्था ल्याउन सकिएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

फोहोर व्यवस्थापनमा गाडी तथा डोजर भाडामा नदिएकाले महानगरको १२ लाख रुपियाँ बचत भएको छ । २०७२ भदौ २२ मा पनि ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाइएको थियो । टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन ३९ रोपनी क्षेत्रफलमा छ ।

त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ ।