१२ कोरोना संक्रमित सम्पर्कविहीन


भक्तपुर, (नेस)

भक्तपुरमा कोरोना पोजेटिभ भएका १२ जना सम्पर्कविहीन भएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार शनिबारसम्म भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा आएका छैनन् ।

कतिको सम्पर्क नम्बर गलत रहेको र जति सम्पर्क गरे पनि कसैले मोबाइल नउठाएको उहाँको भनाइ छ । कसैको स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको जनस्वास्थ्य अधिकृत बल्लले बताउनुभयो ।

कोरोना भाइरस संक्रमणले भक्तपुरमा मर्नेको संख्या १३ पुगेको छ । शनिबार मध्यपुर थिमि नगरपालिका ५ का ६३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएपछि भक्तपुरमा मर्नेको संख्या १३ पुगेको हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ललितपुरको पाटन अस्पतालमा उपचाररत ती पुरुषको शनिबार बिहान मृत्यु भएको थियो । निमोनिया भएर उपचारमा जाँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै मध्यपुर थिमि नगरपालिकामा मात्रै ७ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सूर्यविनायक नपाका ४ जना र भक्तपुर नपाका २ पुरुषको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय भक्तपुर नपाका कोरोना भाइरस संक्रमण हुने दर बढेको छ । भक्तपुरमा शनिबारसम्ममा कोरोना भाइरस संक्रमितहरुको संख्या ९ सय १ पुगेको छ । ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको अधिकृत बल्लले बताउनुभयो ।

भक्तपुर नपा २ निवासी भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई समेत कोरोना भाइरस संक्रमण भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवाल अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।

त्यस्तै भक्तपुर नपाका दुई वडाध्यक्ष र दुई वडा सदस्यलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँहरु संक्रमण उपचारका लागि आइसोलेसनमा रहनुभएको छ ।