लिदी पहिरोका विस्थापितलाई राहत सामाग्री


नानीराम नेपाल, सिन्धुपाल्चोक ।

जुगल गाउँपालिका–२ लिदी गाउँका पहिरो प्रभावितलाई राहत सामग्री प्रदान गरिएको छ । लिदी पहिरोबाट विस्थापित भएर सेलाङको बाँसखर्कमा अस्थायी आश्रय लिइरहेका उनीहरुलाई शनिबार खानेपानी सञ्चयका लागि ट्यांकी, कम्बल र मेडिकल सामग्री प्रदान गरिएको हो ।

शान्ति फाउन्डेशनद्वारा संकलित राहत सामग्री बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापती एवम् सांसद सरेश नेपालले पहिरो प्रवाभित र विस्थापितलाई वितरण गर्नुभयो ।

राहत वितरणका लागि बाँसखर्कस्थित अस्थायी सेल्टरमा पुग्नुभएका सांसद नेपालसँग विस्थापित परिवारले स्थायी बासका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

टेन्टमा जीवनयापन कष्टकर बनिरहेको भन्दै उनीहरुले तत्काल व्यवस्थित किसिमका अस्थायी संरचना बनाइदिन आग्रह गरे । पहिरोपछि लिदीबासीको जिउज्यानको रक्षाका लागि सुरक्षित स्थान खोजेर बाँसखर्क ल्याइएको स्मरण गर्दै सांसद नेपालले वर्षापछि स्थायी र सुरक्षित बासस्थान व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।