पर्वतको कुस्माबजार एक हप्ताका लागि सिल गर्ने तयारी, मजदुर र नेतामा संक्रमण देखियो


न्युज अफ नेपाल, पर्वत ।
पर्वतको कुस्मामा एक जना जिल्ला नेता र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सदरमुकाम कुस्माबजार एक हप्ताका लागि सिल गरिने भएको छ ।
क्वारेन्टाइन बाहिरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार राती देखि एक हप्ताका लागि जिल्ला सिल गर्ने निर्णय भएको छ ।
डिसिसिएमसी पर्वतको बैठकले समुदायमा संक्रमण फैलन नदिन एक हप्ताका लागि कुस्माबजार क्षेत्र पर्ने कुस्मा नगरपालिका वडा नं ४,५, ६ र ७ गरि चार वटा वडा सिल गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय केहीबेरमा बिज्ञप्ती जारी गर्ने बैठकका एक सहभागीले जानकारी दिए ।
समुदायमा संक्रमणको अबस्था जाँचका लागि गरिएको नमुना संकलनका क्रममा नेपाली कांग्रेसका एक जना जिल्ला नेता र सडक स्तरोउन्नतीको काम गर्न आएका मज्दुरमा संक्रमण पुष्टि भएको हो । संक्रमित दुबैलाई कुस्माको अस्थायी कोरोना अस्पताल स्थित आइसोलेसनमा मा लैजाने तयारी भएको डिसिसीएमसी पर्वतले जनाएको छ ।
उहाँहरु सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ । यस अघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइशोलेशनमा उपचार भैरहेको छ ।
नेपाली कांग्रेसका ६८ बर्षिय जिल्ला सदस्यको पर्वत बाहिर कुनै जिल्लामा गएको ट्राभल हिस्ट्री देखिएको छैन । उहाँ पार्टीका बिभिन्न कार्यक्रम, पार्टी प्रबेश कार्यक्रम र डिसिसीएमसीको बैठकमा समेत सहभागी भएको पाइएको छ । अर्का संक्रमित मजदुर भने कुस्माबजारको सडक कालोपत्रेका लागि ल्याइएका मजदुर हुन ।
पर्वतको कुस्मामा समुदायमा कोरोना संक्रमणको अबस्था बुझ्न ६८ जनाको स्वाब संकलन गरिएको थियो । त्यस मध्ये अहिले सम्म ४७ जनाको रिर्पोट आएको छ भने थप २१ जनाको रिर्पोट आउन बाँकी छ।