गौतमबुद्ध मुटु अस्पतालले मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने

0
Shares

यमलाल भुसाल, बुटवल ।

बुटवलमा संचालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क १ लाख रुपैयाँको कोरोना बीमा गरिदिने भएको छ ।

नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकोले उनिहरुलाई केहि भएपनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसंग सम्झौता गरी निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताउनु भयो ।

कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताउनु भयो ।

‘विरामीहरुको कोरोना बीमा गरिदिंदा अस्पताललाई सामान्य आर्थिक भार थपिएपनि संक्रमण भईहाल्यो भने विरामीहरुको लागि भने त्यसले ठूलो राहत मिल्ने अध्यक्ष आलमले बताउनु भयो ।

सरकारले मिर्गौलाका विरामीहरुको डायलाईसिस निःशुल्क गरेपनि अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परिक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलाईसिस बाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाईरल टेष्ट समेत आफ्ना सबै विरामीहरुको निःशुल्क गर्दै आएको छ । त्यस्तै अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोहि नभएका मिर्गौलाका विरामीहरुको औषधी तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलाईसिसको लागि अस्पताल आउने विरामीहरुलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ ।

अस्पतालले डायलाईसिसको विरामीहरुलाई लैजान र छोड्नको लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ ।

अस्पतालमा हाल ४ सय २६ जनाले नियमित मिर्गौलाको डायलाईसिस गराउंदै आएका छन् । काठमाण्डौभन्दा बाहिर सबैभन्दा ठूलो मिर्गौलाको डायलाईसिस युनिट संचालन गर्दै आएको मुटु अस्पतालको बुटवलमा ३ सय ५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना विरामीले नियमित डायलाईसिस गराउंदै आएका छन् ।

अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०÷१० वटा मेशिनबाट डायलाईसिस सेवा संचालन गर्दै आएको छ । त्यस्तै स्याङजाको वालिङमा पनि डायलाईसिस सेन्टर संचालनको अन्तिम तयारीमा रहेको अस्पतालले जनाएको छ ।