आफ्नै लेखा इकाई स्थापना गर्दै कर्णाली सरकार


दीपेन्द्र शर्मा, सुर्खेत
कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको सहजताका लागि प्रत्येक जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ । कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालय अन्तर्गत कर्णाली प्रदेशका सुर्खेतबाहेक नौ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको हो ।

प्रदेशका कार्यालयहरू स्थापना नहँुदा महालेखा नियन्त्रण कार्यालयले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो । प्रदेश मातहतका कार्यालयको लेखा प्रणाली व्यवस्थित बनाउन तथा सहजीकरण गर्न आफ्नै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिनुभयो । सुर्खेत जिल्लामा प्रदेशबाट हेर्ने गरी बाँकी नौ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक बमले बताउनुभयो ।

वित्तीय अनुशासन कायम गर्न तथा प्रदेशको बजेटलाई लक्षित समुदायसम्म पु¥याउन सहज होस् भनेर कार्यालय स्थापना गरिएको हो । नियन्त्रक वमले इकाई कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ गर्न आफ्नो अनुदान कहाँ कति खर्च भएकोछ यथार्थ जानकारी आउने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत आठौं तहको प्रमुख रहने गरी एक जना, छैठांै तहका दुई जना र एक जना कार्यालय सहयोगी रहने छन् ।

कर्मचारीको अभावको कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला जिल्लामा कार्यालय प्रमुखमा लेखा अधिकृत तथा हुम्ला, मुगु, डोल्पा र कालिकोटमा भने कार्यालय प्रमुखमा अधिकृत दरवन्दी भएका छैटौै तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोकिएको तथा सुर्खेत जिल्लामा भने प्रदेश कार्यालयले नै हेर्ने नियन्त्रक बमले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षदेखि प्रदेश मातहतका कार्यालयको आन्तरिक लेखापरीक्षण प्रदेश आफैंले गर्नेछ ।

प्रदेश लेखा इकाईको जिल्ला जिल्लामा कार्यालय स्थापना हुन थालेपछि समायोजन भएर कर्णाली आउन लेखाका कर्मचारी उत्साहित भएको बमले वताउनुभयो । उहाँका अनुसार हालै मात्र लेखा समूहका २२ जना कर्मचारीले कर्णाली प्रदेशमा आउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सहमति लिएका छन् ।

कर्णाली प्रदेशमा लेखा समूहको विभिन्न तहका ३९ जना कर्मचारी अपुग रहेका छन् । लेखा समूहका दशौ तहका एक जना, आठौ तहका १३ जना, छैठौ तहका २२ जना र पाँचौ तहका ३ जना कर्मचारी अपुग भएको प्रमुख वमले जानकारी दिनुभयो । हाललाई मौज्दात जनशक्तिवाट नै द्दज्ञकाम सञ्चालन गर्ने गरी सवै जिल्लामा खटाइएको छ । अब संघवाट समायोजन भएर आएपछि सहज हुने उहाँको भनाइ छ ।