सामूहिक लगानी कोषसम्बन्धी नियमावली संशोधन

लगानीकर्ताको नाफा बढ्ने बोर्डको दाबी


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोषको संशोधित नियमावली कार्यान्वयनमा ल्याएको छ । बुधबारदेखि कार्यान्वयनमा आएको नियमावलीअनुसार योजना व्यवस्थापकले खुलामुखी (ओपन इन्डेड) योजनाको इकाई पुनः खरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्नेछ ।

अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयमा आएको सामूहिक लगानी कोष (चौथो संशोधन ) नियमावली संशोधन अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । नयाँ व्यवस्थासँगै इकाईधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्ने बोर्डको दाबी छ ।

उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परीक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने छ । यसअघि बोर्डको स्वीकृति अनिवार्य थियो । नयाँ व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताको हित हुने बोर्डको अपेक्षा छ ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १३ दशमलव शून्य ५ अंकले बढेर १५०८ दशमलव २० बिन्दुमा पुगेको छ ।

कुल १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार कित्ता शेयर २ अर्ब २६ करोड रुपियाँमा खरिद बिक्री भएको छ । यस दिन कारोबारमा आएका कम्पनीमध्ये १०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ । जसमध्ये राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, नेरुडे लघुवित्त र स्वरोजगार लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन् । तर, एनआरएन इन्फ्रास्टक्चर, कालिका पावर, अरुण कावेली, युनिभर्सल पावरका लगानीकर्ताले भने धेरै गुमाए ।