पर्यटन उद्योगलाई लयमा फकिन पाँच वर्ष लाग्ने


काठमाडौं, (नेस)
कोरोना कहरका कारण धराशयी अवस्थामा पुगेको नेपालको पर्यटन उद्योगलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने पर्यटन विज्ञ तथा व्यवसायीहरूले बताएका छन् ।

कोरोना संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने उनीहरुको दाबी छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतले गरेका कामलाई बजारसम्म जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताउनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपछि त्यसलाई लक्षित गर्दै पर्यटन व्यवसायीले ठूलो रकम लगानी गरेका छन् । अहिले त्यो लगानी जोखिममा रहेको श्रेष्ठले बताउनुभयो । उहाँले मौद्रिक नीतिमा ल्याइएका स्टिमुलस प्याकेज पनि प्रावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसायी योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन समय लाग्ने बताउँदै सन् २०२४÷२५ भन्दा अघि पर्यटन क्षेत्रमा सुधार आउन नसक्ने दाबी गर्नुभयो ।

‘अब १२ लाख पर्यटक भित्र्याउन कम्तीमा पाँच वर्ष लाग्छ ।’ उहाँले भन्नुभयो–‘पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आश्यकता छ ।’

पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन व्यवसायीले खर्च कटौतीको विकल्प नभएको भन्दै पर्यटन क्षेत्रको उत्थानका लागि बजेटमार्फत ल्याइएका कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले त्यस्ता कार्यक्रम वितरण गर्दा पार्टीको झण्डा हेरेर वितरण नगर्न सरकारलाई सुझाव दिनुभयो ।