कोरोनाले सामाजिक आर्थिक अवस्था प्रभावित


भगवती तिमल्सिना, काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय परिवार परिवारमा बढेको छ । विज्ञहरुले लकडाउन खुकुलो हुनु, अनुशासनको पालना कम हुनु, सार्वजनिक यातायातका साधनको प्रयोग बढ्नु तथा पारिवारिक पुनर्मिलन हुनु नै संक्रमित संख्या बढ्नुको कारण औंल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको राष्ट्रिय अध्यावधिक विवरणअनुसार सातवटा प्रदेशको २४ घण्टाको तथ्यांकअनुसार निको हुनेको संख्या ६५ प्रतिशत रहेको जनाएको छ । बढी संक्रमित रहेका प्रदेशहरुमा प्रदेश नं २ पहिलो स्थानमा छ भने बागमती प्रदेश दोस्रो, प्रदेश नं १ तेस्रो र प्रदेश नं ५ चौथो स्थानमा रहेको उल्लेख गरिएको छ ।

सोमबारसम्म कुल ४७ हजार २ सय ३६ जना संक्रमित पुष्टि भएका छन् । हालसम्म प्रदेश नं २ मा सक्रिय संक्रमितमध्ये ६ सय १८ जना क्वारेन्टाइनमा छन् भने ८ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् । प्रदेश नं. ५ मा १ हजार १७ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ४ सय ८१ जना डिस्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेशमा ६ सय ३३ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ३ सय ८० जना डिस्चार्ज भएका छन् र बागमती प्रदेशमा ४ सय ६१ जना क्वारेन्टाइनमा छन् भने ४ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् ।

त्यसै गरी प्रदेश नं १ मा ९ सय ७२ जना क्वारेन्टाइनमा छन् भने २ हजार ६ सय ७९ जना डिस्चार्ज भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ४ सय ४४ जना क्वारेन्टाइनमा छन् भने २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् र गण्डकीमा ५ सय ९४ जना क्वारेन्टाइनमा छन् भने १ हजार ८ सय ४१ जना डिस्चार्ज भएका छन् ।

त्यसै गरी आईसीयू र भेन्टिलेटरमा उपचाररतमा बागमती प्रदेशमा सबैभन्दा बढी १ सय ११ जनामा १८ जना भेन्टिलेटरमा छन् । प्रदेश नं २ मा २४ जना आईसीयुमा छन् भने प्रदेश नं ५ मा २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा राखी उपचार गराइएको छ । यसका साथै आईसीयूमा प्रदेश नं १ मा ६ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिममा १ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाँच सयभन्दा बढी संक्रमित रहेका प्रदेश तथा जिल्लाहरुमा प्रदेश नं १ को मोरङ र सुनसरी, प्रदेश नं २ मा धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही छन् भने बागमती प्रदेशमा काठमाडौं, ललितपुर, चितवन रहेका छन् । त्यसै गरी प्रदेश नं ५ मा रुपन्देही रहेको छ । सोमबारसम्म चारवटा प्रदेशका ११ जिल्ला बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार मृत्यु हुने ११ जनामा प्रदेश नं १ मा मोरङका ७६ वर्षीय पुरुष, प्रदेश नं २ मा सिरहाका ८७ र ६२ वर्षीय पुरुष र सर्लाहीका ३५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बागमती प्रदेशमा दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष, काठमाडौंका ३७, ९० र ८३ वर्षीया महिला रहेका छन् । प्रदेश नं ५ का ५९ वर्षीय पुरुष रहेका छन् । सोमबारसम्म कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । यो संक्रमित संख्याको शून्य दशमलव ६४ प्रतिशत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको १ सय ६८औं मिडिया ब्रिफिङमा विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा मुख्यरुपमा सामाजिक र आर्थिक अवस्थालाई नराम्ररी प्रभाव पारेको बताउनुभयो ।

उहाँले नेपालमा यो दोस्रो चरणको लकडाउन भइरहेको छ र केही दिनपछि समयावधि पनि समाप्त हुँदै छ, अझ पनि काठमाडौं उपत्यकालगायत वीरगन्ज, भरतपुर, विराटनगर, बुटवल, नेपालगन्ज, धनगढीजस्ता बाक्लो वस्ती भएका स्थानहरुमा अझ पनि संक्रमण वृद्धि भएको अवस्था कायमै रहेको बताउनुभयो ।

प्रवक्ता गौतमले कोभिड १९ प्रकोपको अवस्था र स्थान विशेषको आकलन गरी थप प्रभावकारी कामहरु गर्ने विषयमा सम्बन्धित निकायबाट समन्वय र सहजीकरण हुँदै जाने बताउनुभयो ।