पर्यटन मन्त्रीलाई गज्जबको शुभकामना

0
Shares

न्युज अफ नेपाल, हेटौंडा।

‘नेपालमा पर्यटनको पर्याय विमानस्थल र हवाइजहाजमात्र बन्यो । जबकि, यी साधनमात्र हुन्, साध्य होइनन् । निर्वाहमुखी हाम्रो पर्यटनलाई व्याबसायिक बनाउन ठोस नीति योजना र कार्यक्रम बन्नै सकेनन् । बरु, हरेक पर्यटन मन्त्रीलाई हवाइजहाजले उडाएको छ,’ नेपालका पर्यटन मन्त्री योगेश भट्टराईलाई मध्यनेपाल पर्यटन विकास समिति अध्यक्षसमेत रहनुभएका संविधानसभा सदस्य अनन्त पौडेलले पठाएको जन्मदिनको शुभकामनाका केही शव्द हुन् यी ।

मुलुकप्रति जिम्मेवारहरुलाई दिइने शुभकामनाको परम्परागत् शैली बदल्दै उहाँले पर्यटन मन्त्रीलाई सुझाउनुभएको छ–यस्तो रोगबाट तपाईं जोगिनुहोस् । पौडेलले हिमाल, पहाड, ताल, जंगल, जनावर र तराई भएको हाम्रो देशलाई पर्यटनको पूर्वाधार विकास, पर्यटकको सुरक्षा एवम् पाहुनालाई माया र सम्मान गर्ने सँस्कारको राष्ट्रव्यापी अभियान सञ्चालन गरेर उत्तर र दक्षिणका ठूला जनसंख्या भएका दुई छिमेकी देशबाट वार्षिक २५ प्रतिशतमात्र घुम्न आउने आकर्षण दिने वातावरण बनाउनेतर्फ लाग्न आग्रह गर्नुभएको छ ।

‘साउदी अरबको मक्का मदिनामा वार्षिक करोडौं मुस्लिम पुग्छन् भने बुद्धजयन्तीका दिन २० लाख बुद्ध अनुयायीलाई लुम्बिनीमा ल्याउने योजना बनाउनुहोस्, पशुपतिनाथ र मुक्तिनाथलाई प्राथमिकतामा राखेर धार्मिक पर्यटनको प्याकेज तयार पार्नुहोस्,’ पौडेलले जन्मदिनको अवसरमा मन्त्रीलाई यसरी शुभकामना व्यक्त गर्नुभएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले आइतबार आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएको थियो ।