भोजमा जाँदा परिवार नै संक्रमित

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा उपमहानगरका दुई वडामा एकै परिवारका सबै सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार एकैदिन ७२ जनामा कोरोना संक्रमण देखिएकोमा हेटौंडा–१० र ११ का दुई परिवारका १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका वडाका सबै सुरक्षितरुपमा होम आइसोलेसनमा बसेको वडा–११ सदस्य जुना दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमितको परिवारलाई भेटेर आइसोलेसनमा ल्याउन उपमहानगरपालिकाको टोली घरमा पुगेको थियो । तर, सबैजनाले आफूहरुको स्वास्थ्य स्थिति सामान्य रहेको बताउँदै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर होम आइसोलेसनमा उपचार गर्ने बताएको वडा कार्यालयले जनाएको छ । पछिल्लो समय सरकारी आइसोलेसन भन्दा होम आइसोलेसनमा संक्रमित बस्न रुचाउने गरेका छन् ।

केही दिनअघि उनीहरु आफन्तको घरमा भोजमा सामेल भएका थिए । भोज गरिएको घरका एक सदस्यमा कोरोना पोजेटिभ भएको थाहा पाएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । उक्त स्वाबको रिपोर्ट आइतबार आएको र परिवारका सबै सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको पाइएको हो ।

हेटौंडा–११ मा कोरोना संक्रमण पुष्टि भएका ११ जनामध्येमा ८ जना एकै परिवारका सदस्य रहेको उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । जसमा ४० वर्षीय, २८ वर्षीय, ३० वर्षीय र ५३ वर्षीय पुरुष छन् भने ३५ वर्षीया दुई महिला संक्रमित भएका हुन् । १७ वर्षीय किशोर र सोही उमेरकी एक किशोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।

परिवारबाहेक ३० वर्षीय र ४९ वर्षीय पुरुष र १७ वर्षीय एक किशोर गरी तीन जना ११ नम्बर वडामा संक्रमित थपिएका छन् । एकैदिन हेटौंडाका विभिन्न वडाका सात बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो हो ।

हेटौंडा–१० का कोरोना भाइरस संक्रमण पुष्टि भएका १५ जनामध्ये १० जना एकै परिवारका रहेको उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक चौलागार्इंले बताउनुभयो । २७ वर्षीया, ३३ वर्षीया र २२ वर्षीया महिला, ३४ वर्षीय, ३० वर्षीय र २८ वर्षीय पुरुष, ३ वर्षीय, २ वर्षीय र १० वर्षीय बालक रहेकोमा १० वर्षीया एक बालिका पनि संक्रमित भएका छन् ।

३५ वर्षीय, ३० वर्षीय र ६१ वर्षीय पुरुष संक्रमित भएका छन् भने २१ वर्षीया एक महिला र अर्की दुई महिलाको उमेर नखुलेको हेटौंडा–६, गौरीटार आइसोलेसन स्वास्थ्य संयोजक उत्सव चौलागार्इंले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा पनि भोजभतेर गर्दा कोरोना फैलँदै गएको सरोकारवालाले बताएका छन् ।

कोरोनाको लक्षण नदेखिएकामा समेत यसको संक्रमण देखिन थालेको चौलागाईंको भनाइ छ । मकवानपुरमा कोरोना संक्रमण पुष्टि भएका धेरैमा लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमित होम आइसोलेसनमा छन् भने लक्षण देखिएकाहरु गौरीटार आइसोलेसनमा उपचाररत् छन् ।