किङ काजु ५० नाघेर पनि खेल्दै


लन्डन, (एजेन्सी)
जापानी लिग कपको दोस्रो चरणअन्तर्गत गत महिना भएको योकोहामा एफसी र सागान टोसुबीचको खेल विश्वभरि हेडलाइन बनेको थियो। योकोहामाका कप्तान ५३ वर्षीय काजुयोसी मिउराका कारण सो खेल विश्वभरि चर्चित भएको थियो। उनी ५० नाघेर पनि अझै खेलमा सक्रिय भएको देख्दा उनका प्रशंसक भने दंग छन्। बीबीसी र सीएनएन न्युज च्यानलमा समेत उनी छाएका थिए।
काजुयोसीले विश्वकै गोल गर्ने पाको खेलाडीको रूपमा गिनिज बुकमा कीर्तिमान दर्ता गराइसकेका छन्। उनलाई फिफा २० कम्प्युटर गेममा समेत सम्मिलित गराइएको छ। किङ काजु उपनामले चर्चित उनी औसत करियरभन्दा १५ वर्ष बढी करियरमा पुग्नुको रहस्य के हो भन्नेमा सबैको जिज्ञासा छ।
काजुयोसीले बीबीसीलाई भने– ‘१९७० विश्वकप, पेले र ८ एमएम क्यामेरासँगै कहानी शुरू भएको हो।’ उनी सिजुओकामा फुटबल परिवारबीच हुर्केका थिए। जुन शहरमा फुटबल धेरै लोकप्रिय छ। उनका ठूला दाजु यासुटोसी पनि व्यावसायिक फुटबल खेलाडी हुन्। र, उनका बुबासमेत फुटबलका प्रशंसक थिए।
उनले भने– ‘मेरा बुबाले सन् १९७० मा मेक्सिकोमा भएको विश्वकप हेर्नुभएको थियो। उहाँले ८ एमएम भिडियो क्यामेराबाट भिडियो खिच्नुभएको थियो, त्यस समयमा पेले खेलिरहेका थिए र मैले त्यही भिडियो हेरेर हुर्किएको हँु।’
त्यतिबेला ३ वर्षका मात्रै भएका काजुयोसीले त्यही भिडियोले फुटबल खेल्न उक्साएको बताए। उनले भने– ‘म ब्राजिलियन फुटबलको प्रशंसक बनेँ र त्यतिबेलैदेखि नै सानो बच्चाले व्यावसायिक खेलाडी बन्न चाहेको थिएँ।’
१५ वर्षको उमेरका काजुयोसीले सिजुओकामा स्कुल छाडेर ब्राजिलमा बसोबास गरेका थिए। जापानमा सन् १९९३ मा जापानी लिग (जे लिग) शुरू भएपछि मात्रै उनी फेरि जापानमा फर्केका थिए। उनले यसअघि युभेन्ट्स, साओपाउलोमा अनुबन्ध हुन पनि पाएका थिए। काजुयोसीले सन् १९८६ मा पेलेले खेलेको सान्तोसमा खेल्न शुरू गरेका थिए। र, चार वर्षभन्दा बढीको करियरमा उनले ब्राजिलका केही अन्य क्लबहरूमा पनि खेलेका थिए।
काजुयोसी जे लिगमा पहिलो सिजन १९९३ मा भ्यालुएबल खेलाडी घोषित भएका थिए। उनले त्यतिबेला इंग्ल्यान्डका लिजेन्ड गेरी लिनेकरलाई समेत पछि पारेका थिए। त्यसैगरी, १९९४ मा इटालीको जेनोआमा उनी ऋणमा अनुबन्ध पनि भएका थिए। उनी इटाली ‘सिरी ए’ मा खेल्ने पहिलो जापानी खेलाडीसमेत बने।
सन् २००५ मा ३८ वर्षको उमेरमा काजुयोसीले योकोहामा एफसीसँग अनुबन्ध भएपछि उनी लगातार खेलेका छन्। उनी अनुबन्ध हुँदा योकोहामा दोस्रो श्रेणीको क्लब थियो। तर, उनले २००६ मा क्लबलाई पहिलो श्रेणीमा बढुवा गराएका थिए। तर, एक सिजनपछि क्लब फेरि रेलिगेसनमा परेको थियो। तापनि, उनी क्लबका नियमित खेलाडी बनेर छाइरहे।
सन् १९९८ को विश्वकपमा भने काजुयोसीले खेल्न पाएनन् । फ्रान्सले जितेको सो विश्वकपमा जापान पनि छनोट भएको थियो। तर, उनलाई टोलीबाट हटाइएको थियो। विश्वकपजस्तो प्रमुख प्रतियोगिताबाट वञ्चित हुँदा पनि उनले खेलबाट संन्यास लिने कुरा सोचेनन्। २ वर्षपछि उनले भिसेल कोबेका लागि खेलेका थिए।
काजुयोसीकै कारण योकोहामाको खेलमा धेरै दर्शक पनि हुने गर्छन्। रेफ्री गिब्सनका अनुसार योकोहामाको खेलमा ३ देखि ४ हजार बढी दर्शक देखिन्छन्। उनकै भनाइअनुसार प्रायोजकहरू पनि धेरै हुने गर्छन्। एक प्रशिक्षकले बीबीसीलाई भनेका थिए– ‘किङ काजु योकोहामामा पान्डा बियर बनेका छन्।’
यति लामो वर्षसम्म खेल्नुको रहस्य के हो भनेर उनलाई सोध्दा काजुयोसीले भने– ‘केही पनि रहस्य छैन, केवल समर्पण र मिहिनेत मात्र हो। म सधैं अभ्यास गर्छु, फुटबल हान्नुमै रमाउँछु। यसैले म हरेक क्षणमा अझै फुटबल खेलिरहेको छु। साँच्चिकै ब्राजिलमा भन्दा यहाँ (जापान) धेरै रमाएको पनि छु।’