आमा खेलाडीहरू अन्तिम १६ मा


न्युयोर्क, (एजेन्सी)

न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगितामा आमा खेलाडीहरूले जित हात पार्दै अघि बढेका छन्।
यस क्रममा बुल्गेरियाकी स्वेटाना पिरोन्कोभाले १८औं वरीयताकी डोना भेकिचमाथि जित हात पार्दै अन्तिम १६ मा पुगेकी छन्। दोस्रो चरणमा पनि १०औं वरीयताकी गार्बिन मुगुरुजालाई हराएकी पिरोन्कोभाले अर्को ठूलो जित हात पारिन्। उनले तेस्रो चरणमा भेकिचलाई ६–४, ६–१ ले सहजै हराएकी हुन्।

मार्च २०१८ मा छोरा जन्माएपछि ३२ वर्षीया पिरोन्कोभा कोर्टबाट टाढा भएकी थिइन्। उनी २०१० मा भएको विम्बल्डनको सेमिफाइनलसम्म पुगेकी थिइन्। तर, उनी यूएस ओपन टेनिस प्रतियोगतामा भने दोस्रोपटक अन्तिम १६ मा पुगेकी हुन्। उनको अर्को चरणको खेलमा फ्रान्सकी एलिज कोर्नेटसँग हुनेछ। उनकी प्रतिद्वन्द्वी मेडिसन किजले घाँटीको चोटका कारण खेल बीचैमा छाडेकी थिइन्।

यसैगरी, आमा बनेपछि खेल जित्नेमा सेरेना विलियम्स र भिक्टोरिया अजारेन्का पनि रहेका छन्। सेरेनाले स्टेफेन्सलाई हराएको खेल उनकी छोरी ओलम्पियाले समेत हेरेकी थिइन्। सेरेनाले भनिन्– ‘यहाँ धेरै आमाहरू भएकाले म एकदमै खुसी छु। म पनि त्यसमध्ये एक हुँ र आमाहरूका लागि मेरो सम्मान पनि छ।’

अर्की आमा अजारेन्काले पोल्यान्डकी इगा स्वीयाटेकलाई ६–४, ६–२ ले हराएकी थिइन्। गत साता बेलारुसकी अजारेन्काले वेस्टर्न एन्ड साउदर्न ओपन जितेकी थिइन्। दुईपटक यूएस ओपनको फाइनलमा पुगेकी उनको अर्को खेलमा चेक खेलाडी कारोलिना मुचोभासँग सामना हुनेछ।

मेन्स सिंगल्सतर्फ गत वर्षको यूएस ओपनको रनरअप डेनिल मेडभेडेभ चौथो चरणमा पुगेका छन्। रूसकी मेडभेडेभले अमेरिकाका जेजे वोल्फलाई ६–३, ६–३, ६–२ ले हराएका थिए। उनले यस जारी प्रतियोगितामा हालसम्म सेट गुमाएका छैनन्। अर्को चरणमा उनको सामना अमेरिकाकै खेलाडी फ्रान्सेस टियाफोइसँग हुनेछ।

यसैगरी, क्यानडाका २० वर्षीय फेलिक्स अगर एलियासिम पनि अन्तिम १६ मा पुगेका छन्। उनले फ्लसिङ मिडोजमा फ्रान्सेली खेलाडी कोरेनटिन मउटेटलाई ६–१, ६–०, ६–४ ले पन्छाएका थिए। उनको अर्को चरणमा दोस्रो वरीयता प्राप्त डोमिनिक थिएमसँग हुनेछ। अर्को खेलमा थिएमले क्रोएसियाका मारिन चिलिचलाई हराएका थिए।