बालकको उत्तराधिकारी हाभर्ट्ज चेल्सीमा


 

लन्डन, (एजेन्सी)
माइकल बालक जर्मन फुटबलका लिजेन्डमध्ये एक खेलाडी हुन्। उनै बालककै उत्तराधिकारीको रूपमा एक खेलाडीको उदय भएको छ। उनी हुन् काइ हाभर्र्ट्ज। हाभर्ट््जलाई प्रिमियर लिग क्लब चेल्सीले बायर लिभरकुसेनबाट नयाँ सिजनका लागि अनुबन्ध गरेको छ।
चेल्सीले २१ वर्षीय खेलाडीका लागि ७१ मिलियन पाउन्डको महँगो रकम तिर्नु नै उनको प्रतिभा कति छ भन्ने प्रस्ट हुन्छ। यसअघि चेल्सीले आरबी लिपजिगबाट टिमो वेर्नरलाई ४७ दशमलव ५ मिलियन पाउन्डको महँगो रकममा अनुबन्ध गरेको थियो। त्यसो त बालकले पनि चेल्सीबाट खेलिसकेका थिए। उनी बायर्न म्युनिखबाट प्रिमियर लिगमा आएका हुन्।
१९९९ मा जन्म भएका हाभर्ट्जलाई जर्मनीको सबैभन्दा प्रतिभावान् खेलाडीको रूपमा हेरिएको छ। उनले जर्मन क्लब बायर लिभरकुसेनबाट बुन्डेसलिगाामा १७ वर्षको उमेरमा डेब्यू गरेका थिए। शुरूदेखि नै उनलाई भविष्यका सुपरस्टार खेलाडीको रूपमा हेरिएको थियो। ६ फिट २ इन्च अग्ला खेलाडी आक्रमक मिडफिल्डरका रूपमा परिचित भइसकेका छन्। कहिलेकाहीं उनी दायाँ विङबाट पनि खेल्छन् त कहिले स्ट्राइकरको रूपमा पनि अगाडि आउने गरेका छन्।
बायर लिभरकुसेनले १० वर्षको उमेरमै हाभर्ट्जको क्षमता चिनेको थियो। बायरले उनलाई बुन्डेसलिगामा ल्याउने त्यतिबेलादेखि नै हेरिसकेको थियो। नभन्दै ७ वर्षपछि उनी बायर लिभरकुसेनको सिनियर टोलीमा पुगेका छन्। तर, केही पाउन केही गुमाउनुपर्छ भनेजस्तै उनले फुटबललाई रोज्दा पढाइ छाड्नुपरेको छ। ए लेभल पढाइ छाडेका उनले भने– ‘हामीहरू बिहान प्रशिक्षणमा रहने हुँदा म स्कुल जान सकिनँ।’
तर, मेनेजर रोजर सिमिडटले उनलाई आश्वासन दिँदै भने कोर्स जारी राख्नुपर्छ। जब उनका कक्षाका साथीहरू इटालीमा भ्रमण गर्न जाँदा हाभर्ट्जले टोटनहामविरुद्ध च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए। जहाँ उनले करिब ८५ हजार दर्शकको अगाडि आफ्नो कला पेस गर्न पाएका थिए। चेल्सीले हाभर्ट्ज आएपछि मिडफिल्ड बलियो हुने र क्रिस्टियन पुलिसिच र हाकिम जिएचका लागि फाइदा हुने विश्वास गरेको छ।