स्पेनले जित्दा जर्मनी बराबरीमा रोकिए


एजेन्सी ।

युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा स्पेनले युक्रेनमाथि सहज जित निकाल्दा जर्मनी भने स्विजरल्याण्डसँग बराबरीमा रोकिएका छन् ।

आइतबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले आफ्नै भूमिमा पाहुना टोली युक्रेनलाई ४–० गोलअन्तरले हराएको हो । स्पेनको जितमा कप्तान सर्जियो रामोस नायक बने । उनले दुई गोल गरे । त्यसैगरी, युवा खेलाडी अन्सु फातीले यसै खेलबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।

घरेलु मैदानमा स्पेनले खेलको तेस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो । डीबक्समा अन्सु फातीलाई युक्रेनका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई १–० ले अघि पारेका थिए ।

त्यसपछि खेलको २९औं मिनेटमा रामोसले नै हेडिङमार्फत् सुन्दर गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै स्पेनका लागि फातीले तेस्रो गोल गरे । उनले डीबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । गोलपोस्टको तल्लो बार च्याप्दै उनले हानेको कडा प्रहारले जाली चुम्दा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए । स्पेनको सिनियर राष्ट्रिय जर्सीमा उनको यो दोस्रो खेल हो ।

पहिलो हाफमा ३–० को सहज अग्रता बनाएको स्पेनले चौथो गोल भने खेलको ८४औं मिनेटमा गर्‍यो । स्पेनका लागि फेर्रान टोरेजले गोल गरेपछि स्पेनले एकपक्षीय खेल ४–० ले जित्यो । जितपछि दुई खेलबाट ४ अंक जोडेको स्पेन लिग ए समूह ४ को शीर्ष स्थानमा रहेको छ । पराजित युक्रेन ३ अंकसहित दोस्रो स्थानमा छ । जर्मनी दुई अंकसहित तेस्रो स्थानमा छ भने स्वीट्जरल्यान्ड १ अंकसहित चौथो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा स्वीट्जरल्यान्ड र जर्मनी बराबरीमा रोकिए । समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्यान्डले आफ्नो भूमिमा पछि परेको अवस्थामा गोल फर्काउँदै बलियो टोली जर्मनीलाई १–१ को बराबरीमा राेक्न सफल भए ।

घरेलु भूमिमा स्वीट्जरल्यान्ड खेलको १४औं मिनेटमा गोल बेहोरेर पछि परेको थियो । जर्मनीका इकाई गुन्डोगानले उक्त गोल गरेका थिए । तर, खेलको ५७औं मिनेटमा स्विजरल्याण्डका सिल्भान विडमेरले गोल फर्काएपछि खेल १–१ को बराबरीमा टुंगियो । बराबरीको नतिजापछि दुवै टोलीले समान एक–एक अंक बाँडेका छन् ।

त्यसैगरी अर्को खेलमा रसियाले पनि लगातार दोस्रो जित निकाल्यो । रसियाले हंगेरीलाई ३–२ गोलले हराउँदै लगातार दोस्रो जित निकालेको हो । जारी प्रतियोगिताको पहिलो खेलमा सर्वियालाई हराएको रसियाले दोस्रो खेलमा हंगेरीविरुद्ध पनि उत्कृष्ट फुटबल पस्केको थियो ।

रसियाले खेलको १५ औं मिनेटमा मिरानचुकले गोलमार्फत् अग्रता बनाएको थियो । त्यस्तै, ३३ औं मिनेटमा आज्डोभले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोलले अघि रहेको रसियाका फेर्नान्डेसले ४६औं मिनेटमा तेस्रो गोल गर्‍यो ।

तीन गोलले पछि परेको हंगेरीले ८ मिनेटभित्र दुई गोल फर्काउँदै खेलमा फर्किने संकेत देखाएको थियो । हंगेरीका लागि खेलको ६२औं मिनेटमा सालाईले तथा ७०औं मिनेटमा निकोलिकले गोल गरेका थिए । तर, त्यसपछि दुवै टिमबाट गोल भएन र रसियाले लगातार दोस्रो जित निकाल्यो ।

त्यस्तै, अर्को खेलमा फिनल्याण्डले रिपब्लिक आयरल्याण्डलाई १–० ले हराएर पहिलो जित दर्ता गर्‍यो ।पहिलो खेलमा वेल्ससँग पराजित फिनल्याण्डको जितमा एकमात्र गोल जेनसेनले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६३औं मिनेटमा जेनसेनले गोल गरेका थिए ।

त्यसैगरी, वेल्सले पनि आइतबारै भएको खेलमा लगातार दोस्रो जित हात पार्‍यो । समूह डी को खेलमा वेल्सले बुल्गेरियामाथि १–० को जित दर्ता गरेको हो । दोस्रो हाफको अतिरिक्त समयमा वेल्सका लागि निको विलियम्सले निर्णायक गोल गरेका हुन् । ९४औं मिनेटमा जोनाथन विलिम्यसको क्रसमा निकोले हेडमार्फत् विजयी गोल सम्भव पारेका थिए ।