अयोग्य हुँदै जोकोभिच यूएस ओपनबाट बाहिरिए


एजेन्सी ।

सर्वियन टेनिस सुपरस्टार नोभाक जोकोभिच अयोग्य घोषित हुँदै यूएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा उनले प्रहार गरेको बल लाइन जजलाई लागेपछि उनी अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

३३ बर्षीय सर्वियन खेलाडी जोकोभिचले सर्भिस गुमाएपछि रिसाएर बल प्रहार गरेका थिए । त्यही बलले लाइन जजलाई लागेपछि उनलाई अयोग्य घोषित गरियो । उक्त बल लागेर महिला लाइन जज कोर्टमा नै ढलेका थिए । अयोग्य घोषित भएसँगै यस वर्षको यूएस ओपन प्रतियोगिताबाट पनि उनको यात्रा समाप्त भएको छ ।

उक्त घटना हुनुअघिसम्म खेलमा जोकोभिच ६-५ ले अगाडी रहेक थिए । प्रतियोगितामा कारवाही स्वरुप अयोग्य घोषणा गरिएपछि उनले हासिल गरेका सबै अंकहरु काटिएका छन् । जसका कारण उनले पाउनु पर्ने रकममा समेत कटौती हुने भएको छ ।

यो बर्षको यूएस ओपनमा जोकोभिच बलियो दावेदार मानिएका थिए । तर, जोकोभिच दुर्भाग्यपुर्ण तरिकाले बाहिरिएपछि यस वर्षको यूएस ओपनमा नयाँ अनुहार विजेता बन्ने पक्का भएको छ ।