ट्रम्प पराजित भए सेप्टेम्बर–११ को जस्तो त्रासदी हुन सक्ने लादेनकी भतिजीको चेतावनी


वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति चुनावको माहोल तातिरहेकै बेला अल कायदाका पूर्वनेता ओसामा बिन लादेनकी भतिजीको ताजा बयानले थप हलचल ल्याएको छ। उनले डोनाल्ड ट्रम्पले मात्रै अमेरिकालाई सेप्टेम्बर–११ जस्ता हमलाबाट बचाउन सक्ने दाबी गरेकी छन्।

यदि, जोय बाइडन अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएमा पहिलाको जस्तै अर्काे हमला हुन सक्ने बताएकी छन्। सन् २००१ सेप्टेम्बर–११ मा इस्लामिक कट्टरपन्थी संगठन अलकायदाका जिहालीले अमेरिकामा चारवटा त्रासदीपूर्ण आक्रमण गरेका थिए। ती हमलामा २ हजार ९ सय ७७ को मृत्यु भएको थियो भने २५ हजारभन्दा धेरै घाइते भएका थिए।

नुर बिन लादिन स्वीजरल्यान्डमा बस्ने भए पनि हृदयदेखि आफूलाई अमेरिकी ठान्ने गरेको बताउँछिन्। १२ वर्षको उमेरमा नै उनले आफ्नो कोठामा अमेरिकाको ठूलो झन्डा राखेकी थिइन्। छुट्टीको समय पूरै अमेरिकामा यात्रा गर्नु उनको सपना हो। सन् २०१५ देखि नै आफू ट्रम्प समर्थक रहेको उनले बताएकी छन्। ‘मैले उनलाई टाढाबाट देखेकी छु। म उनका संकल्पको प्रशंसा गर्छु।’ –उनले भनेकी छिन्।

ट्रम्पलाई पुनः राष्ट्रपतिमा निर्वाचित गर्नुपर्ने कुरा अमेरिकाका लागि मात्र नभएर पश्चिमी सभ्यताका लागि पनि महत्वपूर्ण भएको उनले बताएकी छन्। उनले भनिन्– ‘तपाईं विगत १९ वर्ष युरोपमा भएका सबै आतंकवादी हमलालाई हेर्नुस्। ती घटनाले हामीलाई पूरै हल्लाइदिएको छ। कट्टरपन्थी इस्लामले हाम्रो समाजमा गहिरो जरा गाडिसकेको छ। अमेरिकामा यो अत्यन्त चिन्ताको विषय भएको छ कि वामपन्थीहरूले उक्त विचारधारा फैलाउनेसँग गठबन्धन गरेका छन्।’

ओसामा बिन लादेनकी भतिजीले डेमोक्र्याटिक पार्टीकी नेता इल्हान उमरमाथि पनि कडा टिप्पणी गरेकी छन्। उनले भनिन्– ‘इल्हान उमर अमेरिकालाई घृणा गर्छिन्। उमरले मिनिएसोटबाट पक्राउ गरिएका आईएसआईएसका १३ बहुरूपीप्रति नरम हुन अपिल गरेकी थिइन्।’

नुर बिन लादिन ओसामा बिन लादेनका दाजु यसलाम बिन लादिनकी छोरी हुन्। यसलामको विवाह प्रसिद्ध स्वीस लेखक कामेन ड्युफोरसँग भएको हो। सन् १९८८ मा यसलाम र कारमेनबीच सम्बन्ध विच्छेद भएको थियो।

त्यतिबेलादेखि नुर बिन लादिन आफ्नी दुई बहिनी वफा र नाजियासँग स्वीजरल्यान्डमा आफ्नी आमासँग बस्दै आइरहेकी छन्। यो परिवारले ओसामा बिन लादेनबाट आफूलाई टाढा देखाउन आफ्नो उपनामको लादेनको स्थानमा लादिन लेख्ने गरेको छ।