भन्सारको कथा : नेपालमा खुकुलो भारतमा कडाइ


नेपाल समाचारपत्र, भद्रपुर

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी नेपाल–भारत सीमानाका बन्द भएको पाँच महिना बितिसकेको छ । झापाको १ सय ४४ किलोमिटर खुला सीमानामा रहेका नाकामध्ये मुख्य भारतको पश्चिम बङ्गालसँग सीमाना जोडिएको काँकडभिट्टा र विहार तथा बङ्गालसँग जोडिएको भद्रपुर दोस्रो नाका पर्छन् । यी नाकाबाट आयात–निर्यातको चाप बढी मात्रामा हँुदै आइरहेकोमा पछिल्लो समय यो चाप ह्वात्तै घटेको छ ।

कोरोना सङ्क्रमण उच्च देखिन थालेपछि नेपाल सरकारले देशभरिका नाकामध्ये १० वटालाई अनुमति दिएको थियो, जसमा झापाको काँकडभिट्टा पनि हो । भद्रपुर नाकाबाट मालसामान खुला गरे पनि मानिस आवत–जावतका लागि काँकडभिट्टालाई मात्र अनुमति दिइएको थियो । सो नाकामा भारतको पानीटङ्कीतर्फ कडाइ गरे पनि भारतको तुलनामा नेपालतर्फ खासै देखिएको थिएन । नेपाली नागरिक भारतबाट नागरिकता या मतदाता परिचयपत्रको माध्यमबाट सजिलै आउने गरेका छन् भने नेपालबाट भारत जानआधार कार्ड र मतदाता परिचयपत्र अनिवार्य गरेको छ ।

नेपालले छाडे पनि भारतीय प्रहरीले चेकपोस्टबाट नै फिर्ता पठाउँदै आएको छ । सीमामा खटिएका प्रहरीले सुरक्षा मापदण्ड अपनाएको भने देखिएन ।

नेपालमा रहेकी साथीको मृत्यु भएपछि केही महिनाअघि भारतको सिलगुडीबाट आएकी लक्ष्मी हिङमाङलाई नेपालतर्फका सुरक्षाकर्मीले छाडे पनि भारतीय प्रहरीले फिर्ता पठाएको थियो । कागज नपुगेका कारण भारतीय प्रहरीले जान नदिएको मेचीपुलमा उहाँले बताउनुभयो ।

नाकाबाट दैनिक २ सयसम्म मानिस आवत–जावत गर्ने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेल बताउनुहुन्छ । नाकामा कडाइ गरिएको उहाँको भनाइ छ । आएका मानिसलाई प्रहरीको निगरानीमा होल्डिङ सेन्टरमा लगिने र सम्बन्धित स्थानीय निकायको सिफारिसका आधारमा पठाइने उहाँको भनाइ छ । भारतबाट आएका मालवाहक सवारीसाधनलाई भन्सार राखेर चेकजाँचपछि मात्र पठाउने गरेको उहाँको भनाइ छ ।

यता कोरोना संक्रमणको कारण देखाउँदै भारतको पश्चिमबंगालको पानीट्यांकी नाकाबाट पाँच महिनादेखि अवरुद्ध पेट्रोलियम आयात हाल सुचारु भएको छ । नेपाली ट्यांकरहरूले सिलिगुडी डिपोबाट डिजेल, पेट्रोललगायत इन्धन नेपाल ल्याउन शुरू गरिसकेको मेची भन्सार कार्यालयले बताएको छ । पश्चिम बंगाल सरकारले अनिश्चित्कालीन पानीट्यांकी नाका बन्द गरेको पाँच महिनापछि मात्र आंशिक खुला भएको हो ।

कोरोना संक्रमणको कारण देखाउँदै पश्चिमबंगाल सरकारले गत चैत २६ देखि पानीट्यांकी नाका बन्द गरेपछि मेची नाकाबाट हुने आयात–निर्यात ठप्प भएको थियो । त्यसको एक महिना वैशाख २७ गतेबाट आयात खुले पनि निर्यात भने हुन सकेको थिएन । नेपालबाट हुने निर्यात भने ७३ दिनपछि असार ७ बाट मात्रै खुला गरिएको थियो । यसअघि पश्चिम बंगाल प्रहरीले कोरोनाको कारण देखाउँदै मेचीपुलमै मालवाहक सवारी रोकेको थियो ।

मेची भन्सारको राजस्वको लक्ष्य दैनिक चार करोड भए पनि बन्दाबन्दीका कारण नाका बन्द हुँदा राजस्व संकलन प्रभावित भएको सूचना अधिकृत भरतराज अधिकारीले बताउनुभयो । दैनिक दुई करोड हाराहारी राजस्व संकलन हुन थालेको उहाँको भनाइ छ । यता भद्रपुर र भारतको गलगलियाबाट हुने आवतजावत बन्द गरिएको भन्सार सुरक्षार्थ खटिएका इन्सपेक्टर विवु दाहाल बताउनुहुन्छ । सामान मात्र भद्रपुर भन्सार आउने गरेको उहाँको भनाइ छ ।