छाडा चौपाया व्यवस्थापनमा ३ करोड ४४ लाख खर्च

खर्चको अनुपातमा उपलब्धि शून्य


मनोज भट्ट, महेन्द्रनगर

कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका नाममा स्थानीय तहहरुले बजेट मात्रै सिध्याउने र उपलब्धिसहितको निकास नदिने गरेको पाइएको छ । स्थानीय निकाय स्थापित भएपछि कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका नाममा ३ करोड ४४ लाख खर्च भएको पाइएको छ ।

हरेक आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि बजेट निकासा गर्ने तर समस्यालाई स्थानीय निकायहरुले निराकरण गर्न सकेका छैनन् । महेन्द्रराज मार्गअन्तर्गत पर्ने स्थानीय निकाय र राजमार्गसँग सीमाना नै नजोडिएका स्थानीय तहले समेत चौपाया व्यवस्थापनका नाममा लाखौं रुपियाँ खर्च गरेका छन् ।

छाडा चौपाया व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकाले सबैभन्दा बढी बजेट खर्च गरेको छ, भने दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाले जिल्लामै सबैभन्दा कम बजेट खर्च गरेको छ ।

छाडा चौपायाको व्यवस्थापनको नाममा भीमदत्त नगरपालिकाले अहिलेसम्म १ करोड रुपियाँभन्दा बढी रकम खर्च गरेको भए पनि समस्या भने जस्ताको त्यस्तै रहेको छ । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा ७४ लाख रकम निकासा गरिएको हो ।

आव २०७५÷०७६ मा भीमदत्त नगरपालिकाले २८ लाखको लागतमा ब्रह्मदेवमा गौशाला निर्माण गरेको हो । त्यसै गरी भीमदत्तले छाडा चौपाया व्यवस्थापनकै लागि बागफाँटामा समेत ४६ लाखको लागतमा सोही आर्थिक वर्षमा गौशाला निर्माण गरेको प्रशासकीय अधिकृत हरि सिंह धामीले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने वेदकोट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि नगरभित्र गैरजिम्मेवार ढंगले छोडिएका छाडा चौपायाको व्यवस्थापनमा ६० लाखभन्दा बढी रकम खर्च भइसकेको बताएको छ । सो नगरपालिकाले आव २०७४÷०७५ को बजेटमा छाडा चौपायका व्यवस्थापनका लागि २६ लाख रकम निकासा गरेको थियो ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा छाडा चौपाया व्यवस्थापनका लागि आव २०७५÷०७६ मा १० लाख खर्च भएको छ । गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि चौकीदार राखेर शुरुआत गरेको भए पनि त्यो अवस्था हाल रहेको छैन । हाल शून्य चौपाया व्यवस्थित रहेको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताउनुभयो ।

कृष्णपुर नगरपालिकामा आव २०७५÷०७६ मा ५ लाख र २०७६÷०७७ मा २ लाख ७७ हजार रकम खर्च भएको छ । वनदेवी मन्दिर कृष्णपुरमा छाडा चौपायाको व्यवस्थापनका लागि गाउँपालिकाले ५ लाख बराबरको तारबार गरेको थियो ।

शुरुआती चरणमा १ सय ५० देखि २ सय संख्याको हाराहारीमा गाई रहे तापनि हाल व्यवस्थित चौपायाको संख्या ३० देखि ४० मात्रै रहेको सूचना अधिकारी पे्रम बोगटीले बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिकामा आव ०७५÷०७६ मा ४६ लाख खर्च भएको छ । त्यस्तै ०७६÷०७७ मा नगरपालिको ६० लाख र प्रदेश सरकारको १५ लाख छाडा चौपाया व्यवस्थापनमा लगानी गरेको पाइएको छ ।

शुरुआती चरणमा नगरपालिकाले १ हजार ३ सय गाई व्यवस्थापन गरेको भए पनि हाल भने शुक्लाफाँटा नगरपालिकामा २ सय ७५ गाई मात्र व्यवस्थित रहेको स्थानीयले बताएका छन् । आव २०७७÷०७८ छाडा चौपाया व्यपस्थापनका लागि ४० लाख रकम विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाले बताउनुभयो ।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि आव २०७६÷०७७ मा १० लाख खर्च भएको जनाएको छ भने दक्षिणी क्षेत्रकै पुनर्वास नगरपालिकाले सोही प्रयोजनका लागि आव ०७४÷०७५ मा १ लाख खर्च भएको जनाएको छ ।

लालझाँडी गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि आव २०७६÷०७७ मा २ लाख रकम खर्च भएको जनाएको छ । त्यसै गरी महाकाली नगरपालिकाले २०७५÷०७६ मा ३७ लाख रकम निकासा गरेको जनाएको छ । आव २०७६÷०७७ मा छाडा चौपाया व्यवस्थापनका लागि १० लाख र आव २०७७÷०७८ का लागि ३० लाख रकम छुट्याएकोे प्रमुख प्रशासकीय अधिकृत गणेश मिश्रले बताउनुभयो ।