‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना

आजबाट काम थालिने


ईश्वरराज ढकाल, काठमाडौं

राजधानीमा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना गरेको छ । करिब २० जनाको स्वास्थ्यकर्मी रहने गरी कोभिड सेन्टर स्थापना गरिएको हो ।

कामपाले हिजो आइतबार राष्ट्रिय सभागृहमा अप्रेसन सेन्टर स्थापना गरेको कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीले सबै वडाका संक्रमितसँग समन्वय गर्ने कन्ट््याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्नेछन् । कामपाले हिजैबाट १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ ।

सो टोलीले ३२ वटै वडासँग संयोजन गर्ने, होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको काम गर्नेछ ।

संघीय राजधानी रहेको कामपामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा ठोसरुपमा काम गर्न नसकेको आरोप लागेको अवस्थामा महानगरले अप्रेसन सेन्टर स्थापना गरेको हो ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत एवं सचिव एकनारायण अर्यालले कोरोना संक्रमणलाई रोकथाम गर्न र राजधानीमा संक्रमितको संख्या पत्ता लगाएर पीसीआर परीक्षण गर्ने अधिकारसहित सेन्टर स्थापना गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘आज सोमबारबाट टोलीले सबै काम गर्नेछ । महानगरबासीलाई समस्या परेमा वडाको संयोजनमा टोलीमार्फत सबै काम हुनेछ ।’

अप्रेसन सेन्टरका सबै कर्मचारी र जनस्वाथ्यकर्मीलाई प्रशिक्षणपश्चात् फिल्डमा खटाउने तथा संक्रमण पहिचान गर्न कन्ट्क्याट ट्रेसिङलाई थप बढाउने कामपाले जनाएको छ ।

कामपा जनस्वाथ्य अधिकृत ज्ञानबहादुर ओलीले टोलीलाई केसको पहिचान गर्नेदेखि कन्ट्याट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्नेसम्मको अधिकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनशक्ति अभावले गर्दा सोचेजति पीसीआर परीक्षण गर्न सकेका थिएनौं, भोलि मंगलबारबाट सेन्टरमा कार्यरत जनशक्ति परिचालन गरी पीसीआर गर्ने संख्या बढाउनेछौं ।’

कामपाले हालसम्म ६ हजार ४ सय ४४ जनाको पीसीआर गरिसकेको छ र कन्ट्याक्ट ट्रेसिङमा परेका करिब ४ हजारको पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । तथ्यांकअनुसार कामपाले परीक्षण गर्दा ३ सय २४ जनालाई पोजेटिभ देखिएको थियो । महानगरभित्र हालसम्म करिब ४ हजारको संख्यामा संक्रमित रहेका छन् ।

जनस्वास्थ्य अधिकृत ओलीले सेन्टर स्थापना भएपछि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको संख्या बढ्ने तथा सेन्टरले कोरोना संक्रमितका लागि क्वारेन्टन र आइसोलेसनमा व्यवस्थापन गर्न सबै वडासँग समन्वय गर्ने बताउनुभयो ।

विभाग प्रमुख कुँवरले कामपामा परीक्षण गर्दा लक्षण नदेखिएका सक्रमितलाई राख्न बालाजुस्थित बाइधारा पार्कको भवनलाई प्रयोग गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म कसैलाई पनि क्वारेन्टाइनमा राखेका छैनांै, आवश्यकता पर्दा बालाजुको भवनमा क्वारेन्टाइन र जनमैत्री र प्रदेश र संघीय सरकारले व्यवस्थापन गरेका आइसोलेसनमा राख्ने व्यवस्था गरेका छांै ।’

महानगरले अहिलेसम्म चार जनाको सहयोगमा पीसीआर परीक्षण गरिरहेको थियो । अब सो संख्या बढेर करिब १० जना पुग्ने विभागले जनाएको छ ।