पत्रकार कार्कीमाथी आक्रमण गर्नेलाई कारवाहीको माग


न्युज अफ नेपाल, काभ्रे ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता तथा रासस सेवाग्रही शाखा प्रमुख राजाराम कार्की माथी गरेको आक्रमणको नेपाल पत्रकार महासंघ काभ्रे शाखा सहित विभिन्न सघ संस्थाले घटनाको घोर भत्र्सना गरेका छन् ।

पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा संचारकर्मी माथी भएको आक्रमणले सिङ्गो संचार क्षेत्रलाई त्रसित बनाएको उल्लेख गरिएको छ । संचारकर्मीलाई आक्रमण गर्ने अपराधमा संलग्न ब्यक्तिलाई कानुन अनुसार कारवाही गरी सुरक्षित ढंगबाट काम गर्ने वातावरण तयार गर्न विज्ञप्ती मार्फत महासंघले माग गरेको छ ।

विज्ञप्तीमा घाईते पत्रकार राजाराम कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । भाद्र २१ गते विहान ९.३० बजेको समयमा घरायसी सामान खरिद गर्न बनेपा नगरपालिका वडा नम्वर ८ स्थित बसपार्क नजिकै रहेको चामुण्डा हार्डवेयरमा पुगेको अवस्थामा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्वर १० घर भई बनेपा नगरपालिका वडा नम्वर १४ साँगा स्थित नेपाल प्रहरी स्कुलमा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले एक्कासी पुरानो हिसाव किताव तँ सँग गर्नु छ भन्दै भटाभट हार्डवेयरमा भएका सामाग्रीहरुले टाउको, शरिरका विभिन्न भागहरुमा प्रहार गरी रग्ताम्मे भएर भुँईमा ढलिसक्दा समेत आक्रमण गरिरहेको र पसलमा भेला भएका ब्यक्तिहरुले कुटपिटबाट रोक्न लाग्दा समेत एकोहोरो कुटी ज्यान मार्ने प्रयास गरेको घटना प्रति नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ध्यानाकर्षण भएको अध्यक्ष तिमल्सिनाले जानकारी दिनु भयो । घटनाको नेपाल पत्रकार महासंघ काभ्रे शाखा घोर भत्र्सना गर्दै घटनामा संलग्न दोषी उद्धव कार्कीलाई कडा कारवाहीको माग गरेको छ । घाईते पत्रकार राजाराम कार्कीको तत्काल उपचार र क्षतिपुर्ति समेत सम्वन्धीत ब्यक्तिबाट भराई कडा कारवाहीका लागि महासंघले माग गरेको हो ।

त्यस्तै प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईरालाले विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गर्दै दोषि माथी कडा कारवाहीको माग गर्नु भएको छ । नेपाल ट्रेड युनियन काँग्रेसका सचिव नारायण सापकोटाले पनि घटनाको विरोध गर्दै विज्ञप्ती जारी गर्नु भएको छ ।