पर्सामा अझै कोरोना नियन्त्रण बाहिर, मृतकको संख्या ५७ पुग्यो


कृष्णउदास खनाल, वीरगन्ज।

पर्सामा २०७६ चैत २८ गते पहिलो पटक तीनजना भारतीय जमातीमा देखिएको कोरोनाको कहर जमातीहरु ठीक भएर आफ्ना काममा लागेको महिनौं भएपनि कोारेना अझै नियन्त्रणमा आउन सकेको छैन ।

करिब ५ महिनासम्ममा पर्साको कोरोनाले ब्यापक जनधनको क्षति गरेको छ ।हालसम्म वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ। साउन यतामा मात्रै ५३ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५७ मध्ये २ सनाखत हुन नसकेका पुरुषसहित पर्साका ४१ जना, बाराका १२ जना र रौतहटका ४ जना रहेका छन्। वीरगन्जका तीनवटा कोभिड अस्पताल स्थापना गरिएका कारण पनि छिमेकी जिल्लाबाट समेत संक्रमितहरु अन्तिम अवस्थामा उपचारका लागि आउने गरेका कारण मृतकको संख्या बढेको नारायणी अस्पताल वीरगन्जका सूचना अधिकारी डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

सरकारी तथ्यांक अनुसार पर्सामा हालसम्म संक्रमतिको संख्या तीन हजार पुगेको छ । तर यो तथ्यांकमा काठमाडौं लगायतका स्थानमा रहेर उपचार गराइरहेकाहरुको समेत समावेश नगरिएका कारण बढ्न सक्ने अनुमान छ । यद्यपी अहिले पर्सा जिल्लाभर लगाइएको निशेधाज्ञा हटाएर वीरगन्ज महानगरपालिकाभित्र मात्रै सीमित गरिएको छ ।

यसैबीच वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। पर्साको वीरगन्ज महाजगरपालिका–१० का ७७ वर्षीयञ पुरुषको शुक्रबार राति मृत्यु भएको हो।वीरगन्जको बयोधा अस्पतालबाट रिफर गरिएका उनको काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि भदौ १७ गते बयोधा अस्पतालमा भर्ना गरिएका ती पुरुषमा भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई चिकित्सकले काठमाडौं रिफर गरेका थिए। काठमाडौं लैजाने क्रममा बाटोमै उनको शुक्रबार राति १२ बजे मृत्यु भएको श्रीवास्तवले जानकारी दिनुभयो ।

यसअघि शुक्रबार राति नै वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा १५ दिन देखि उपचाररत पर्साको पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो।यसैबीच पर्सामा आइतबार मात्रै थप २६ जनामा संक्रमण पुष्टी भएको छ ।