नेमकिपा सचिव तथा संघीय सांसद प्रेम सुवाललाई कोरोना संक्रमण


पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा संघीय संसदमा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भाद्र ११ गते भक्तपुर नगरपालिका ४ स्थित नेमकिपाका एक कार्यकर्तामा संक्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सुवाललाई संक्रमण पुष्टि भएको हो ।

सुवालको स्वाब यहीं भाद्र १५ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा लिइएको थियो ।
जसको रिपोर्ट शनिबार पोजिटिभ आएको केन्द्रले जनाएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेर शंका लागि सुवालले पीसीआर परीक्षण गराउनुभएको थियो ।

स्वाब दिएदेखि आफू होम आइसोलेसनमा बसेको ,स्वास्थ्य अवस्था सामान्य भएको र सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको सांसद सुवालको भनाई छ ।

स्वास्थ्य कार्यालय भक्तपुरले उहाँको कन्ट्याक्ट ट्रेसिङ र यात्रा विवरण लिने कार्य भइरहेको जनाएको छ।