लन्डन, (एजेन्सी) ।
वेल्सका फरवार्ड गेरेथ बेलले इंग्लिस प्रिमियर लिगमा फर्कन सक्ने बताएका छन्। उनी टोटनहामबाट ला लिगा क्लब रियल मेड्रिडमा आबद्ध भएका हुन्। तर, रियल मेड्रिडले उनलाई क्लब छाड्न कठिन बनाइरहेको बताइएको छ। गत सिजनमा उनलाई पहिलो रोजाइमा नराखेर मेनेजर जिनेदान जिदानले बेन्चमै खुम्च्याएका थिए।
गत वर्ष बेल चीनको सुपर लिगमा जाँदा पनि रियल मेड्रिडले बाधा तुल्याएको थियो। ३१ वर्षीय खेलाडीका लागि अन्य क्लबहरूले पनि चासो लिइरहेका छन्। उनका एजेन्टले भनेका थिए– ‘उनी कतै पनि जाने छैनन्।’ बेलले स्काइ स्पोर्ट्सलाई भने– ‘मैले गत वर्ष नै छाड्ने कोसिस गरेको थिएँ तर उनीहरूले (रियल मेड्रिड) मलाई अन्तिम सेकेन्डमा रोकेका थिए। म गत वर्ष उत्साहित थिएँ तर केही पनि भएको थिएन। क्लबले मलाई छाड्न दिएको थिएन। म फुटबल खेल्न चाहन्छु। म ३१ वर्षको भएँ तर पनि स्वस्थ र फिट छु। हामी के हुन्छ हेर्नेछौँ। यो क्लबकै हातमा छ र उनीहरूले धेरै कठिन बनाइरहेका छन्।’
बेलले केही पहिला प्रिमियर लिगमा फर्कन सक्ने पनि बताएका थिए। तर, उनले यो सबै चीज उनको हातमा नरहेको बताएका छन्। उनी सन् २०१३ मा ८५ मिलियन पाउन्डमा टोटनहामबाट रियल मेड्रिडमा अनुबन्ध भएका थिए। उनलाई विश्वकै सर्वाधिक महँगो खेलाडीमा उभ्याएको थियो।
बेलले बेर्नाबेउमा पहिलो ५ वर्ष ठूलो सफलता हासिल गरेर रमाएका थिए। उनले एक सय गोल गर्नुका साथै च्याम्पियन्स लिगसमेत जित्न सफल भएका थिए। तर, यसपछि उनको करियरमा बाधा उत्पन्न भएको थियो। चोटका कारण उनी अघिल्ला दुई सिजनमा त्यति खेल्न पाएका थिएनन्।
बेलले २०१९–२० ला लिगा सिजनमा केवल एक खेल खेलेका थिए। कोरोना भाइरस दौरान पुनः सञ्चालन भएको ला लिगामा उनले रियलका लागि एक सय मिनेट मात्र खेल्न पाएका थिए। क्लबले ला लिगा उपाधि जित्दा पनि उनी बेन्चमै थिए। क्लबका मेनेजर जिदानसँग उनको सम्बन्ध चिसिएको बताइएको छ।
जिदानले भनेका पनि थिए– ‘बेलले क्लब छाडेमा सबैका लागि राम्रो हुनेछ। उनको बहिर्गमनले क्लबको आर्थिक अवस्थामा लाभ मिल्नेछ।’ उनले यस्तो विवादास्पद प्रतिक्रिया दिएकोले पनि बेल र उनीबीचको सम्बन्ध चिसिएको हो।
बेल अझै पनि रियल मेड्रिडमा धेरै तलब पाउने खेलाडीको अग्रपंक्तिमा छन्। २०२२ सम्म सम्झौता अवधि भएको बेलको हातमा प्रतिसाता ६ लाख पाउन्ड तलब पर्छ। यसैले पनि उनलाई अरू क्लबले रियलबाट अनुबन्ध गर्न कठिन भइरहेको हो। तापनि, उनको पूर्वक्लब टोटनहाम र म्यानचेस्टर युनाइटेडले उनलाई अनुबन्ध गर्न चासो लिएका छन्।











प्रतिक्रिया