हेटौंडा, (नेस) ।
कोरोनाकै कारण विभिन्न्न जिल्लाका शहर तथा विदेशबाट फर्किएर आएका युवा यतिखेर खेलकुदमा रमाउन थालेका छन्। पढाइ तथा रोजगारीका लागि गएका युवा कोरोना महामारीका कारण घर फर्किएपछि मकवानपुरका गाउँमा आजभोलि युवाको जमात देखिन थालेको छ।
विद्यालय/क्याम्पस बन्द हुँदा घरमै बसेका युवा घरपरिवारलाई सघाउने र फुर्सदमा खेलमा तल्लीन देखिन्छन् उनीहरू। उनीहरूले गाउँमा फुटबल, क्रिकेट तथा साइक्लिङलगायत खेललाई प्राथमिकता दिएका छन्।
हेटौंडा–१८, हर्नामाडीमा लकडाउनअघि त्यति युवाको भीड लाग्दैनथ्यो जति हाल फुटबल खेलमा छन्। कोही विदेशबाट फर्किएका त कोही विद्यालय/क्याम्पस बन्द भएकाले युवा चौरमा भेटिन्छन्। लामो समयदेखि फुटबल खेल्दै आएका दाजुभाइ विक्रम पाण्डे र राजेश पाण्डेले पनि लकडाउनको भरपुर आनन्द लिइरहेका छन्।
विक्रमका अनुसार उनीहरू अन्य काममा व्यस्त हुने भएकाले हाल निषेधाज्ञाले साथीभाइमाझ सम्बन्ध बढाउने काम गरेको छ। सिक्ने र सिकाउने काम पनि भइरहेको उनको भनाइ छ। गाउँघरकै २०–२५ जनासम्म जम्मा भएर दिनहुँ फुटबल खेल्ने गरेको पाण्डेले बताए। खेलकुदमार्फत एकापसमा एकता र मेलमिलापको अवसरसमेतमा सहयोग पुगेको छ। किनकि, उनीहरू आफू खेल्छन्, अरूलाई सिकाउँछन्। जसले गर्दा नयाँ पुस्तालाई खेलबारे जानकारी र सिक्ने अवसर मिलेको छ।
हेटौंडा—११ का ऐसन पौडेल लकडाउनका कारण चितवनबाट सिभिल इन्जिनियरिङको पढाइ बन्द भएर आएको ६ महिना भएको छ। लकडाउनकै कारण फर्किएका उनी हाल बिहान÷बेलुका साइक्लिङ गरेर दिन बिताइरहेका छन्। उनका लागि यो समय साइक्लिङ गर्ने एक अवसर बनेको छ। आफूले सिक्ने र नयाँ साथीलाई सिकाउने काम भइरहेको पौडेलले बताए।
आफ्नो टिममा २० देखि २५ जनासम्म हुने पौडलेले बताएका छन्। स्यानिटाइजर लगाएर र भौतिक दूरी कायम गरेर विभिन्न ठाउँ अवलोकन गर्ने गरेको पौडल बताउँछन्। युवाविहीन बनेका गाउँ हाल वसन्तमा रूखले पालुवा फेरेझैं भएका छन्। त्यसमाथि खेलका माध्यमबाट अनुशासन, विकास र उत्साह भरिएको छ। त्यसैले, गाउँघरमा खेललाई स्थापित गर्ने यस्तो अवसरलाई स्थानीय तहले ध्यान दिनु जरुरी रहेको उनीहरूले औंल्याएका छन्।











प्रतिक्रिया