न्युयोर्क, (एजेन्सी) ।
विश्व नम्बर एक नोभाक जोकोभिच न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन्।
सर्बियाका जोकोभिचले मेन्स सिंगल्सको तेस्रो चरण खेलमा जर्मनीका जान लेनार्ड स्ट्राफलाई ६–३, ६–३, ६–१ को सीधा सेटले हराएका हुन्। आर्थर ऐस रंगशालामा भएको उक्त खेल जितेपछि उनको यस वर्ष जितको क्रम २६ पुगेको छ। उनी यस वर्ष हारेका छैनन्। उनको जितको क्रम निरन्तर अघि बढिरहेको छ। उनले चौथो चरणमा स्पेनका पाब्लो क्यारेनो बुस्टासँग खेल्नेछन्।
तर, चौथो सेटमा ५–१ को अग्रता लिएर पनि ग्रीसका स्टेफानोस टिसिटिसीपासले हारको सामना गर्नुपरेको थियो। क्रोएसियाका बोर्ना कोरिचविरुद्ध ६ म्याच प्वाइन्ट खेर फाल्नु नै उनका लागि दुर्भाग्य हुन पुग्यो। कोरिचले म्याच प्वाइन्ट बचाएपछि लगातार ६ खेल जितेका थिए। उनले सो खेल ६–७, ६–४, ४–६, ७–५, ७–६ ले जितेका थिए।
४ घण्टा ३६ मिनेटको संघर्षपछि जित हासिल गरेका कोरिचले पहिलो ग्रान्डस्लाम क्वार्टरफाइनलमा पुग्न अस्टे«लियाका जोर्डान थोम्पसनसँग सामना गर्नेछन्। थोम्पसनले कजाकस्तानका मिखाइल कुकुसकिनलाई ७–५, ६–४, ६–१ ले हराएर अन्तिम १६ मा पुगेका थिए। यो जितपछि उनी पनि पहिलो ग्रान्डस्लाम क्वार्टरफाइनल पुग्ने दाउमा रहेका छन्।
यसैगरी, क्यानडाका डेनिस सापोभालोभले पनि चौथो सेटमा ५–२ ले पछि परेको स्थितिलाई उल्ट्याएर जित हात पार्न सफल भएका थिए। उनले अमेरिकाका टेलर फ्रिट्जलाई हराएका हुन्। पहिलोपटक ग्रान्डस्लामको अन्तिम १६ मा पुगेका उनको सामना बेल्जियमका डेभिड गोफिनसँग हुनेछ। गोफीनले सर्बियाका फिलिप क्रायिनोभिचलाई तीन सेटमा पराजित गरेका थिए।
वोमेन्स सिंगल्सतर्फ २०१८ कि विजेता नाओमी ओसाका पनि अन्तिम १६ मा पुगेकी छन्। जापानी खेलाडीले मार्टा कोस्ट्युकलाई तीन सेटमा हराएकी थिइन्। ओसाकाले १८ वर्षीया युक्रेनी खेलाडीबाट कडा चुनौती पाएकी थिइन्। पहिलो सेट ६–३ ले सहजै जिते पनि दोस्रो सेटमा कोस्ट्युकले टाइब्रेकरमा ७–६ ले हात पारेकी थिइन्। तर, निर्णायक सेटमा ५ वटा ब्रेक प्वाइन्ट बचाएर १–३ ले पछि पर्ने सम्भावनालाई पन्छाइन्। त्यसपछि ओसाकाले लगातार ५ गेम जितेर सेट सहजै ६–२ ले आफ्नो बनाएकी थिइन्। उनको सामना एनेट कोन्टाभिटसँग हुनेछ।
अन्य खेलमा २०१६ कि विजेता जर्मनीकी एन्जेलिक केर्बरले जित हासिल गर्दै अन्तिम १६ को यात्रा तय गरेकी छन्। केर्बरले एन लिको चुनौती ६–३, ६–४ ले सजिलैसँग पन्छाएकी थिइन्। उनले अर्को चरणमा अमेरिकाकी जेनिफर ब्राडीको सामना गर्नेछिन्। ब्राडीले फ्रान्सकी कारोलिन गार्सियालाई ६–३, ६–३ ले हराइन्। यसअघिको चरणमा गार्सियाले शीर्ष वरीयता प्राप्त कारोलिन पिलिस्कोभालाई हराएकी थिइन्।
यस्तै, छैठौं वरीयताकी चेक खेलाडी पेटरा किटोभाले अमेरिकाकी जेसिका पेगुलालाई ६–४, ६–३ ले पराजित गरिन्। उनको अन्तिम १६ मा अमेरिकाकै सेलबी रोजर्ससँग सामना हुनेछ। पेटरा मार्टिचले रूसकी भार्भारा ग्राचेभाविरुद्धको खेल ६–३, ६–३ सेटले जितेकी थिइन्। अर्को खेलमा क्रोएसियाकी मार्टिचले काजाक खेलाडी युलिया पुटिन्ट्सेभासँग सामना गर्नेछिन्।











प्रतिक्रिया