शेयर लगानीकर्ताको सम्पत्ति ७० अर्बले बढ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

अर्थमन्त्रीमा डा. युवराज खतिवडाले निरन्तरता पाउने हुन् कि होइनन् भन्ने विषयले यो साताको शेयर बजारमा चर्चा पाएको छ ।अर्थमन्त्रीको बहिर्गमनसँग जोडिएको यस साताको कारोबारमा लगानीकर्ताले उल्लेख्य मात्रामा आफ्नो सम्पत्ति बढाएका छन् ।

साताभरको कारोबारमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५२ दशमलव ३८ अंकले वृद्धि भएसँगै यो साता लगानीकर्ताको सम्पत्ति करिब ७० अर्ब रुपियाँले बढेको छ । अहिले धितोपत्र बजारमा लगानीकर्ताको कुल सम्पत्ति १९ खर्ब ९८ अर्ब ३१ करोड ४० लाख रुपियाँ पुगेको छ । अघिल्लो साता लगानीकर्ताको कुल सम्पत्ति १९ खर्ब २८ अर्ब ४७ करोड २० लाख रुपियाँ रहेको थियो । यो साता चार दिनमात्रै कारोबार हुँदा तीन दिनमात्रैै नेप्से परिसूचक बढेको थियो । अन्तिम दिन स्थिरजस्तै हुँदा नेप्से परिसूचक १५१० दशमलव ४२ बिन्दुमा रोकिएको छ । गत साताको तुलनामा यो साताको कारोबार रकम २ अर्ब रुपियाँभन्दा बढी रहेको छ ।

यस साता १९३ कम्पनीको १ लाख ५९ हजार १०४ पटकको कारोबारमा ११ अर्ब ९० करोड २४ लाख ४९ हजार रुपियाँको शेयर खरिद बिक्री भएको छ । अघिल्लो साता ९ अर्ब ७४ करोड ३ लाख ६० हजार रुपियाँको कारोबार भएको थियो । साताभर सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । यो कम्पनीको मात्रै १ अर्ब ७२ करोड १० लाख ६२ हजार रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । सो कम्पनीको यस साता १६ हजार ६५६ पटक २० लाख २४ हजार कित्ता शेयर किनबेच भएको थियो । साताभर कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । जसमध्ये सबैभन्दा धेरै अन्य समूहको परिसूचक १२ दशमलव ९१ प्रतिशत बढेको छ भने सबैभन्दा कम बैंकिङ समूहको परिसूचक १ दशमलव १७ प्रतिशतले मात्रै बढेको छ । साथै अंकका आधारमा निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २६९ दशमलव ४५ प्रतिशत बढेको छ । यो साता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेर ३०४ दशमलव ७३ बिन्दुमा पुगेको छ ।