दृष्टिविहीन दलित दम्पतीलाई जीवन चलाउनै सकस

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्र्षीया पार्वती लुहार दृष्टिविहीन रहेका छन् । सुन्दर संसार हर्ने रहर त पार्वतीलाई पनि नभएको कहाँ हो र तर आर्थिक अभावका कारण आफूले अस्पताल जान नसकेको कहिल्यै आँखाको उपचारका लागि नसोचेको उहाँले बताउनुभयो ।

दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेका यो दम्पतीको विवाह १० वर्षअघि भएको थियो । त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो । मदनको अगाडिको श्रीमतीको मृत्यु भएपछि पार्वतीलाई दोस्रो श्रीमतीका रुपमा भित्र्याएका मदनले आफू पनि शारीरिक अशक्त भएपछि आफूजस्तै जीवनसाथी खोजेको बताउनुभयो । मदन आँखा नदेख्नुका साथै कान पनि सुन्दैनन् ।

पार्वती ५ वर्षकी हुँदा दृष्टिविहीन भएकी थिइन् । सानै उमेरमा आँखामा समस्या रहेको र माइतीको आर्थिक अवस्था कमजोर भएका कारण आफूले उपचार गराउन नपाएको उहाँले बताउनुभयो । गरिबीका कारण सानै उमेरमा बिहे गरेकी पार्वतीको पीडा निकै दुःखदायी रहेको छ । पार्वती भन्नुहुन्छ– ‘श्रीमान् आँखा नदेख्ने र कान पनि सुन्नुहुन्न, दुवै जना घरको केही काम गर्न सक्दैनौं, हामीहरुका २ छोरा र १ छोरी छन् ।’

१० वर्षको छोरा कक्षा ५ मा पढ्छ, ६ वर्षकी छोरी कक्षा १ मा पढ्छिन् भने अर्को छोरा भर्खर ६ महिनाको भयो भन्दै उहाँले पिठ्युँमा बोकेको छोरालाई देखाउँदै भन्नुुभयो– ‘तीनओटा छोराछोरी छन्, यिनीहरुको शिक्षादीक्षा र लालनपोषणका लागि समेत समस्या भइरहेको छ ।’

अहिले छोराछोरी अलि ठूला भएकाले आफूहरु उनीहरुको सहारामा खाना पकाउने काम र घरबाहिर कहिलेकाहीं बाहिर जानुपरेमा छोराछोरीले हात समातेर कामधन्दामा तथा बाहिरभित्र लैजाने गरेको पार्वतीले बताउनुभयो । उहाँले भन्नुुभयो– ‘अशक्त भएकाले पशुचौपाया पनि पाल्न सकेका छैनौं र खेतबारी पनि नभएकाले जिन्दगी गुजार्न सकस भएको छ ।’

पछिल्लो समयमा छोराछोरीले हिँड्नको लागि साहारा दिँदा भविष्यमा उनीहरुले खान बस्न देलान् भन्ने आश जागेको उहाँले बताउनुभयो । पहिला त आफूहरुलाई बाँच्न पनि निकै सकस भएकाले उतिबेलाको दुःख अहिले आफू सम्झन नचाहेको उहाँले बताउनुभयो । उहाँले भन्नुुभयो– ‘यो संसार कस्तो छ र आफ्ना छोराछोरीहरु कस्ता छन् । आफूलाई केही पनि थाहा नभएको र एकचोटि भए पनि हेर्ने धोको रहेकोले त्यो पूरा नहुने पो हो कि भन्ने चिन्ता रहेको छ ।’

आफूहरुलाई कसैले पनि नचिनेकाले सहयोग नगरी रहेको र गाउँलेहरुले समेत हेला गर्ने गरेको उहाँले गुनासो गर्नुभयो । कहिलेकाहीं त आफूलाई पिटेर समेत जाने गरेकाले कस्ले किन पिट्यो भन्ने पनि थाहा नपाउने गरेको उहाँको भनाइ छ । आफूजस्ता अपाङ्गता भएका नागरिकहरुका लागि सरकारले पनि केही नगरेको उनीहरुको गुनासो रहेको छ ।

आफू त कति बेला मरिन्छ तर आफ्ना छोराछोरीलाई सामान्य लेखपढ गराउन सक्यो भने मात्रै पनि आफूलाई सहज हुने उहाँको भनाइ छ । अहिले मदन र पार्वती दम्पती वार्षिकरुपमा अपांगता भत्ता पाउँदै आएका छन् । उनीहरु वार्षिकरुपमा २४ हजार रुपियाँ भत्ता पाउने गरेका छन् । भत्ताको रकमले नै आफूहरुले दैनिक छाक टार्नका जोहो गरी रहेको मदन दम्पतीको भनाइ रहेको छ । आफूहरुजस्ता अपाङ्ता भएका व्यक्तिहरुका लागि सरकारले विशेष राहतको प्याकेज ल्याइदियो भने जीवनयापन गर्न सहज हुने उनीहरुको माग रहेको छ ।
शारीरिकरुपमा अशक्त दम्पतीलाई दैनिक गुुजारा गर्न समेत समस्या रहेको छ ।