खोटाङमा वुद्ध दाजु बहिनीको विभत्स हत्या, चार दिनपछि भेटियो शव

0
Shares

रामधन राई, खोटाङ ।

भदौ–२०, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा वुद्ध दाजु वहिनीको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाँ श्रेष्ठको शव आफ्नै घरमा फेला परेको हो ।

दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

घटना प्रकृति हेर्दा तीन/चार दिन अगाडि बृद्धबृद्धाको हत्या गरिएको अनुमान गरिएको घटनास्थल पुग्नुभएका डिएसपी चिमरियाले बताउनुभयो । भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेको पाईएको प्रहरीको भनाई छ ।

घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले घटनाको विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको सिडियो पौडेलले जानकारी दिनुभयो । अहिले अनुसन्धान जारी रहेकोले विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुने सिडियोको भनाई छ ।

एकान्तमा घर भएका कारण उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुनसक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो ।

मृतक दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।