नेदरल्यान्ड्सले जित्दा इटाली बराबरीमा रोकियो


एजेन्सी ।

दोस्रो संस्करणको युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा नेदरल्यान्ड्सले खेलेको पहिलो खेलमा जितको नतिजा निकाल्दा इटाली भने बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली पोल्यान्डलाई १–० ले हराएर सुखद् नतिजा निकालेको हो । प्रमुख खेलाडी रोवर्ट लेवान्डोस्कीबिनै उत्रिएको पोलिस टिमविरुद्ध नेदरल्यान्ड्सले आक्रामक खेल खेले पनि १ भन्दा बढी गोल गर्न सकेन । नेदरल्यान्ड्सका लागि १ मात्रै विजयी गोल खेलको ६१औं मिनेटमा स्टेभेन बर्गविज्नले गरेका थिए । सो गोलपछि खेलभरि नै थप गोल नहुँदा नेदरल्यान्ड्स विजयी बन्यो ।

त्यस्तै, यसै समूहमा रहेको इटाली पहिलो म्याचमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको समूह ‘ए’अन्तर्गतकै अर्को खेलमा इटाली आफ्नै घरेलु मैदानमा बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा इटालीले एक गोलले पछि परेको स्थितिमा बराबरीको नतिजा निकाल्न सफल भयो । खेलको ५७औं मिनेटमा इडेन जेकोले गोल गर्दै बोस्नियालाई १–० ले अघि पारेका थिए । तर, गोल बेहोरेको १० मिनेटपछि नै इटालीका लागि स्टेफानो सेन्सीले बराबरी गोल फर्काए ।

अब यस समूहमा नेदरल्यान्ड्स स्पष्ट जितेर ३ अंकसहित शीर्ष स्थानमा छ । बोस्निया र इटाली भने एक–एक अंकसहित संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै, अन्य खेलहरुमा रोमानियाले उत्तरी आयरल्याण्डसँग र स्कटल्याण्डले इजरायलसँग समान १–१ गोलको बराबरीमा खेल्दा कजाकस्तानले लिथुवानियालाई र अल्बानियाले बेलारुसलाई समान २-० ले पराजित गर्‍यो । त्यसैगरी अष्ट्रियाले नर्वेलाई २-१ ले पराजित गर्दा चेक गणतन्त्रले स्लोभाकियालाई ३-१ ले हरायो ।