एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न


काठमाडौं, (नेस)
एनआईसी एशिया क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने ३ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङसम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गतको सामूहिक लगानीकोष योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्ड सञ्चालन गरिरहेको छ । त्यस्तै पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड सञ्चालन गर्न स्वीकृतिको लागि आवश्यक प्रकृयामा रहेको छ ।