उद्योगमा स्वास्थ्य मापदण्डको अनुगमन

0
Shares

हेटौंडा, (नेस)
हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए÷नभएको विषयमा अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालसहित टोलीले हाल सञ्चालनमा रहेका उद्योगमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना भए÷नभएको विषयमा अनुगमन गरेको हो ।
टोलीले औद्योगिक क्षेत्रमा सञ्चालित भ्याली पेलेट दाना उद्योग, गोरखा लाहरी प्रालि, बर्जर पेन्ट्स् र यति पोलिकेम प्रालिमा अनुगमन गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्डपोष्ट) ले जिल्लामा निषेधाज्ञा केही खुकुलो पार्दै उद्योग सञ्चालनका लागि तयार पारेको मापदण्ड पालना भए÷नभएको विषयमा टोलीले विभिन्न उद्योगमा अनुगमन गरेको हो ।

कमाण्ड पोष्टले जिल्लामा उद्योग सञ्चालन गर्दा सम्भव भएसम्म उद्योग परिसरभित्र कर्मचारी तथा श्रमिक राख्ने व्यबस्था मिलाउनुपर्ने, उद्योगपरिसरमा राख्न सम्भव नभए विहान ६ बजेभित्र उद्योग परिसर प्रवेश गराउनुपर्ने र साँझ ६ बजेपश्चात् उद्योगपरिसरबाट बाहिर पठाउनुपर्ने तथा उनीहरुलाई सवारीसाधन प्रयोग गरेर घरबाट ल्याउने र लैजाने व्यवस्था सम्बन्धित उद्योगले गर्नुपर्ने, कर्मचारी तथा कामदार घर फर्किसकेपश्चात् समुदायमा घुलमिल नहुने व्यबस्था सम्बन्धित उद्योगले मिलाउने र उक्त कुराको उद्योग संघ र उद्योग वाणिज्य संघले नियमितरुपमा कमाण्डपोष्ट बैठकमा प्रतिवेदन पेश गर्ने, बाहिरी जिल्लाबाट श्रमिक एवम् कर्मचारी ल्याउने कार्य पूर्णरुपमा बन्द गर्ने र तोकिएको स्वास्थ्य एवम् सुरक्षा मापदण्ड पालना नगरी उद्योग सञ्चालन गरेको पाइए तत्काल उद्योग बन्द गरी कारबाहीको दायरामा ल्याउने गरी मापदण्ड बनाएको छ ।

अनुगमनका क्रममा कतिपय उद्योगले मापदण्डको पूर्णपालना गरेको तथा कतिपय उद्योगमा मापदण्डको पालना भएको नपाइएको खुलालले बताउनुभयो । मापदण्ड पालना नगरेका उद्योगलाई मापदण्ड पालना गरेरमात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । टोलीले ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बर्जर पेन्ट्स्मा त्यहाँको अवस्थाबारे बुझ्नुका साथै अन्य उद्योगमा श्रमिकले काम गरेको स्थानमा पुगेर स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन गरेको थियो ।