हाइब्रिड मकैबाट किसान जिल्ल

0
Shares

पुष्पा थापा, सर्लाही
हाइब्रिड मकै खेती गरेका किसान मकैको उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । हाइब्रिड मकैको बजार मूल्य यतिबेला प्रतिक्विन्टल करिब दुई हजार रुपियाँमा बिक्री भइरहेको छ । विगतको तुलनामा यस वर्ष आधा मूल्य घटेकाले किसानलाई लागत उठाउन गाह्रो हुने चिन्ता परेको हो ।

गत वर्ष हाइब्रिड मकै खेतबाटै प्रतिक्विन्टल ३५ सयदेखि चार हजार रुपियाँसम्ममा बिक्री भएको थियो । तीन महिना अघि नै पाकेर बिक्रीका लागि तयारी भएको मकै अहिले आएर सस्तो मूल्यमा बिक्री गर्नु पर्दा आफूहरुक समस्यामा परेको स्थानीय हरिपुर–१ क किसान कुमार ढुंगेलले गुनासो गर्नुभयो ।

गत वर्ष महँगो मूल्यमा खेतबाट सहजै मकै बिक्री भएकाले यस वर्ष धेरै किसानले अन्य बाली छोडेर हाइब्रिड जातको मकै खेती गरेका थिए । ‘पोहोर साल मकैको मूल्य धेरै राम्रो थियो, भएभरको सबै जग्गामा यस वर्ष मकै खेती गरेंँ,के गर्नु अहिलेसम्म मकै बेच्न सकिएको छैन,’ बरहथवा–९ का किसान तुलसा कार्की भन्नुहुन्छ ।

घटेको मूल्यमा समेत व्यापारीले मकै नकिन्दा भण्डारण गरेकै ठाउँमा घुन, पुतली र मुसा लाग्न थालेको किसानले गुनासो छ । यस वर्ष बन्दाबन्दी र कुखुरा उत्पादनमा कमि भएकाले मकैको बजार मूल्य घटेको व्यापारीको भनाइ छ ।

लामो समयदेखि मकैको व्यापार गर्दै आउनु भएका सुनील साह भन्नुहुन्छ –‘यस वर्ष लकडाउनको कारण धेरै दाना उद्योग बन्द भएका छन्, उद्योग बन्द भएकाले किसानसँग खरिद गरेको मकै पनि बिक्री नभएर गोदाममा नै थन्किएको छ, मकैको धेरै माग हुने चितवन, पोखरा र काठमाडौ अहिले बन्द भएकाले गाउँघरमा किसानसँग खरिद गरेको मकैको पनि बेलैमा पैसा तिर्न सकिएको छैन।’

मकैमा फौजी किराको संक्रमण देखिएपछि किरा नियन्त्रण गर्न कीटनाशक औषधि प्रयोग गर्दा किसानको लागत खर्च बढेको बरहथवा नगरपालिका–१ का वडाध्यक्ष रत्नबहादुर गिरीले बताउनुभयो । हाइब्रिड मकै उत्पादनका लागि जिल्लाको बागमती, बरहथवा र हरीपुर पकेट क्षेत्र मानिएको भए पनि यस वर्ष हावाहुरी, फौजी किराको र समयमा मलखाद नपाएको कारण उत्पादन घटेको किसानको भनाइ छ । जिल्लामा यस वर्ष १२ हजार सात सय हेक्टर क्षेत्रफलमा हाइब्रिड मकै खेती गरिएको र ६४ हजार ८ सय मेट्रिक टनभन्दा धरै मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।