बैंक तथा वित्तीय क्षेत्रमा तरलता उच्च


काठमाडौं, (नेस)
अर्थतन्त्र चलायमान नहुँदा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी तरलता बढ्दै गएको छ । तरलता उच्च हुँदा ठूला निक्षेपकर्ताले निक्षेप राख्नका लागि सूचना नै जारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । विगतमा तरलता अभाव हुँदा निक्षेप खोसाखोस हुने स्थिति हुन्थ्यो । तर, हिजोआज कर्मचारी सञ्चय कोष, नागरिक लानी कोषलगायत विभिन्न कोषका रकम स्थिर भएर बसेको अवस्था छ ।

त्यसैक्रममा साढे चार अर्ब रुपियाँ रकम मुद्दती निक्षेपमा राख्नका लागि नागरिक लगानी कोषले प्रस्ताव मागेको छ । कोषले सूचना प्रकाशित गर्दै ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम राख्न प्रस्ताव मागेको हो ।
सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीबाट जम्मा भएको तथा लगानीबाट प्राप्त भएको प्रतिफलसहित ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपियाँ मुद्दति निक्षेपमा राख्न कोषले सूचना प्रकाशित गरेको छ ।

‘क’ वर्गका वाणिज्य बैंकले एक वर्षदेखि दुई वर्षे मुद्दति निक्षेपमा राख्नका लागि ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ । प्रस्ताव भदौ २१ गते दिउँसो २ बजेसम्म बुझाउनुपर्ने छ ।