मेची अस्पतालमा ५० शैयाको कोभिड उपचार केन्द्र सञ्चालन


न्युज अफ नेपाल, भद्रपुर । 

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका र अन्य विरामीलाइ एउटै भवनमा राखेर झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरले उपचार शुरु गरेपछि बल्झिएको विवाद समाधान भएको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई पुरानो भवन नजिकै रहेको मेची अस्पतालको निर्माणाधीन भवनमा ५० शय्याको कोभिड– १९ उपचार केन्द्र सञ्चालनमा ल्याएपछि दुइमहिना यताबाट बल्झिएको विवाद साम्य भएको हो ।

अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना सङ्क्रमण पुष्टि भएका बिरामी राखेर उपचार शुरु गरिएको थियो निर्माण सम्पन्न भइनसकेका कारण तत्कालका लागि पुरानो भवनलाइ प्रयोग गर्दै आइरहेकोमा आइतबारबाट नयाँ भवनमा कोरोनाका विरामीहरुको मात्र उपचार सञ्चालनमा आएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको निर्माणाधीन भवनमा कोरोना सङ्क्रमित राखेर उपचार शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो । कोभिड–१९ उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको उहााको भनाइ छ । हाल ५० शय्याको निर्माण पूरा भइसकेको र थप २५ शय्याको लागि काम भइरहेको उहाँको भनाइ छ ।

सङ्क्रमितको उपचारका लागि अस्पतालका डाक्टर गोविन्द कँडेलको संयोजकत्वमा आठ सदस्य आरडिटी समिति गठन यसअघि नै गरिसकेकोले त्यही समितिमा आबद्ध चिकित्सकको टोलीले उपचार गर्ने उहाँको भनाइ छ ।

अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना सङ्क्रमण पुष्टि भएका र अन्य विरामीलाइ एउटै भवनमा राखेर उपचार शुरु गरेपछि अस्पतालमा अन्य उपचारका लागि जाने बिरामीको सङ्ख्या ह्वातै घटेको थियो । कोरोना सङ्क्रमित बिरामी राखिएपछि सङ्क्रमण फैलिन सक्ने त्रासकै कारण गरिब तथा असहाय बिरामी जान छाडेपछि चौतर्फी आलोचना शुरु भएको थियो । २२ शैय्याको आइसोलेसन तीन दिनमै भरिएपछि अस्पताल प्रशासनलाई थप चुनौती थपिएको थियो । त्यसपछि अस्पतालले कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न निर्माण कार्यलाइ तीब्रता दिएको थियो ।

यता अस्पतालमा सञ्चालनमा आएको पीसीआर परीक्षण सेवा केही दिन यताबाट बन्द भइसकेको छ । पीसीआर प्रयोगशालामा चाहिने पीसीआर प्लेट कभर सकिएपछि सेवा बन्द भएको हो । प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्र्याक्सन र पीसीआर किट स्टकमा भएपनि प्लेट कभर नभएपछि सेवा बन्द भएको प्रशासनले जनाएको छ ।