कभर्डहलका लागि सहयोग जुट्दै


हेटौंडा, (नेस)
हेटौंडा–५ पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि सहयोग जुट्ने क्रम जारी छ। हल निर्माणका लागि हेटौंडाको पुरानो फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष मनिष श्रेष्ठले ५० हजार रुपियाँ सहयोग गरेका छन्।
त्यसैगरी, शुक्रबार अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापाले पनि ५० हजार रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्बा र लायन्स क्लब अफ सूर्योदय हेटौंडाले पनि सहयोग गरेका छन्। हेटौंडा–१३, पदमपोखरीस्थित पदमपोखरी युवा क्लबका अध्यक्षसमेत रहेका लुङ्वाले १५ हजार सहयोग गरेको पिप्ले युवा क्लबका अध्यक्ष एवं कभर्डहल निर्माणका अगुवा सुशील घिमिरेले जानकारी दिए ।
फुटबल खेलका लागि नेपालका राष्ट्रिय प्रशिक्षक कुमार कटुवालले निर्माणाधीन बहुउपयोगी कभर्डहलका लागि १० हजार एक सय रुपियाँ सहयोग गरेका छन्। हेटौंडाकै स्थायीवासी प्रशिक्षक कटुवालले सहयोग रकम प्रदान गरेका हुन्।
त्यस्तै, बहुउपयोगी कभर्डहलका लागि स्थानीय रत्नकाली क्लबका अध्यक्ष दिनेश राईले १० हजार रुपियाँ र ब्याड्मिन्टन खेलाडी विजयसिंह ठकुरले जनही पाँच हजार सहयोग गरेका छन्।
पिप्लेमा निर्माणाधीन बहुउपयोगी कभर्डहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पिप्ले युवा क्लबले निर्माण गरिरहेको कभर्डहलका लागि दैनिकजसो सहयोग प्राप्त भइरहेको छ।