एन्जाइटी र डिप्रेसन कसरी थाहा पाउने ?


एन्जाइटी र डिप्रेसन फरक रोग हो । यसलाई एकै खाले रोगमा वर्गीकरण गर्न मिल्दैन । उपचार पद्धतिमा पनि फरक हुन्छ । मुख्य बुझ्नुपर्ने कुरो के हो भन्दा कुनै एक प्रकारको एन्जाइटी विकसित भएर डिप्रेसन शुरू हुने हो । यी दुवै रोगको कारण प्रायः एकै हुन्छ । रोगको धेरै लक्षणहरू पनि उस्तै हुन्छ । यी दुवै रोग न्युरोट्रान्समिटर फंग्सन अर्थात् काम परिवर्तन हुँदा विकसित हुने हो । न्युरोट्रान्समिटर डिसअर्डर हुँदा सेरोटोनिंन भन्ने रसायनको कमी हुँदा यी रोगहरु विकसित हुन्छन् ।

डोपामाइन र एपिन्याफ्रिन नामक रसायनको भूमिका पनि उत्तिकै हुन्छ, एन्जाइटी र डिप्रेसन हुनको लागि । अब दुवै रोग एकै कारणले हुने हुँदा लक्षणहरु उस्तै हुनु र एन्जाइटी हुँदा डिप्रेसन विकसित हुनु अनि डिप्रेसन हुँदा कुनै–कुनै प्रकारको एन्जाइटी विकसित हुनु सामान्य नै हो ।

एन्जाइटी भएको व्यक्तिलाई सबभन्दा डर मर्नदेखि लाग्छ, जब एन्जाइटीले आक्रमण गर्छ अनि उसलाई भविष्यको चिन्ता हुन्छ । कतै म मर्छु कि ? कतै मलाई हृदयघात हुन्छ कि ? जीवनदेखि आश मरेको हुँदैन र मर्नदेखि अत्यधिक डर लाग्छ । एन्जाइटीले आक्रमण गर्नेबित्तिकै अस्पताल जान आग्रह गर्छ । बिरामीको यो प्रकृति अथवा स्वभाव एन्जाइटीले आक्रमण गरेको बेलामा मात्र देखा पर्छ र बिस्तारै यो १ घण्टापछि आफैँ सामान्य हुन्छ ।

अर्कोचोटि एन्जाइटीले आक्रमण नगरुन्जेल यस्तो समस्या देखा पर्दैन तर उसलाई पहिला परेको समस्याले चिन्तित बनाउँछ र बिस्तारै एन्जाइटीले आक्रमण नगर्दा पनि डिप्रेसनका सामान्य लक्षण शुरू हुन थाल्छ । ठीक विपरीत डिप्रेसन भएको व्यक्तिलाई मर्नदेखि डर लाग्दैन, झन् आत्महत्या गर्न मन लाग्छ । जे गर्दा पनि व्यक्तिले आफ्नो भविष्य अन्धकार मात्र देखिरहेको हुन्छ । यो समस्या डिप्रेसन भएको व्यक्तिलाई निरन्तर भइरहन्छ । एन्जाइटीजस्तो १ घण्टासम्म मात्र लक्षण देखिने होइन कि निरन्तर आत्माग्लानि भइरहन्छ ।

करिब–करिब एन्जाइटी र डिप्रेसनको फरक यही नै हो । अझ एक वाक्यमा भन्दा, डिप्रेसन आफैँमा एन्जाइटीको विकसित रुप हो तर एन्जाइटीचाहिँ डिप्रेसन होइन । यसैले एन्जाइटी पहिचान गर्न सके डिप्रेसनको उपचार गर्नुपर्दैन र एन्जाइटीको मात्र उपचार गर्दा हुन्छ ।
– सुमित्रा रोकाया, ललितपुर ।