कोरोना नियम तोड्ने टिकटक स्टारद्वय पक्राउ


क्यालिफोर्निया, (एजेन्सी)
अमेरिकाको लस एन्जल्समा प्रहरीले कोरोना भाइरस फैलिन नदिन स्थानीय प्रशासनले कार्यान्वयन गरेको सुरक्षा नियम उल्लंघन गर्दै आफ्ना घरमा धेरै मानिसहरू जम्मा पारी पार्टी आयोजना गरेको अभियोगमा दुईजना टिकटक स्टारलाई गिरफ्तार गरेको छ।
लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्ममा लाखौं प्रशसंक अर्थात् फलोअर बनाउन सफल ब्राइस हल र ब्लेक ग्रेको महामारीका बेलामा पनि यस्ता पार्टी आयोजना गरेका कारण जनस्तरमा पनि व्यापक आलोचना भएको छ। नगर न्यायाधीश माइक फेउरले तिनीहरूको काम अत्यन्तै गैरजिम्मेवारपूर्ण देखिएको दाबी गरेका छन्। अदालतमा अभियोग प्रमाणित भएको खण्डमा तिनीहरूलाई जनही अधिकतम दुई हजार अमेरिकी डलर जरिबाना र एक वर्ष लामो काराबास सजाय हुन सक्छ।
यस्तै, सामाजिक कार्यविरुद्ध लागेको भन्दै स्थानीय निकायले यसै महिनाको शुरूमा हलिउड हिल्सस्थित ती दुई संयुक्त बंगलामा पानी र बिजुलीको आपूर्ति बन्द गरिदिएको थियो। धेरै मानिस जम्मा गरी पार्टी आयोजना गरी लसएन्जल्सको गृह सुरक्षा आदेश तोडेको अभियोगमा तिनीहरूलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो।