साथीसँग खेल्न गएका राजनको अझै छैन अत्तोपत्तो


भूूपराज बस्याल, स्याङ्जा
आफ्नै साथीसँग खेल्न गएका राजन पौडेल दुई हप्तादेखि बेपत्ता छन् । उनको खोजीमा लागिरहेको प्रहरीले बताउँदै आएको छ । सँगै खेल्न गएका दुई जना साथी अहिले पनि प्रहरी नियन्त्रणमा छन् । गत साउन २६ गते आफ्ना दुई जना साथीहरुसँग पोडी खेल्न गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधिखोलाको किनारमा फेला परेको थियो । कपडा भेटिएको ठाउँबाट मोबाइल भेटिएको ठाउँ झन्डै ३ सय मिटरको दूरीमा रहेको आफन्तको भनाइ छ । राजनको मोबाइल फुटेको अवस्थामा फेला परेको बताइएको छ ।

यहाँनेर गम्भीर विषय त के छ भने अघिल्लो दिन सँगै गएका साथीहरू भोलिपल्ट बेपत्ता राजनको खोजीमा समेत हिँडेका थिए । उनैले अर्काे दिनमात्रै राजन खोलामा पोडी खेल्न जाँदा हराएको सूचना दिएको राजनको परिवारले जनाएको छ ।

नयाँ आएका इन्सपेक्टरले ३ दिनको समय मागेका थिए तर ६ दिन बितिसक्यो । राजन बेपत्ता भएसँगै लगातार वडा प्रहरी कार्यालय घेराउसमेत भएको थियो, यही बीचमा तत्कालीन वडा प्रहरी प्रमुख निरञ्जन घिमिरेको पोखरा काज सरुवा भयो र नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको वालिङमा आगमन भयो ।

वालिङ आएकै दिन प्रहरी निरीक्षक पौडेलले जनमानससमक्ष भन्नुभएको थियो– ‘३ दिनको समय दिनुस् म सत्य–तथ्यबाहिर ल्याएर छाड्छु ।’ तर, उहाँले भनेको आज ६ दिन भइसकको छ, अझै बेपत्ता राजनको कुनै अत्तोपत्तो छैन ।

तपार्इंले ३ दिन भन्नुभएको थियो, किन सत्य–तथ्यबाहिर ल्याउन सक्नुभएन भन्ने नेपाल समाचारपत्रको प्रश्नमा निरीक्षक पौडेलले भन्नुभयो– ‘हामी अनुसन्धानमा नै छौं सत्य–तथ्य छिटै सार्वजनिक गर्छौं ।’

अहिलेसम्म के–के भए
सर्वप्रथम राजन बेपत्ताभएको भोलिपल्ट उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । उजुरीमा राजनको खोजी गरिदिन माग गरिएको थियो । राजनको परिवार, प्रहरी र आफन्तको सक्रियतामा खोजी जारी रहेकै बेला साथीहरूकै हात रहेको सूचनाबाहिर आउँछ ।

उनका दुई जना साथी प्रहरी नियन्त्रणमा पर्छन् र अनुसन्धानको स्वरूप परिवर्तन भएको देखिन्छ । प्रहरीले केही कमजोरी गरेको आरोप लगाउँदै उनका आफन्त र सर्वसाधारणले प्रहरी कार्यालय घेराउ गर्छन् । तत्कालीन प्रहरी निरीक्षक निरञ्जन घिमिरेको सक्रियतामा पोखराबाट गोताखोरको टोली आई आँधीखोलामा खोजतलास गरिन्छ । प्रहरी निरीक्षक घिमिरेको काज सरुवा हुन्छ र पोखराबाट कमान्ड सम्हाल्ने हरिप्रसाद पौडेलको वालिङ आगमन हुन्छ ।

फेरि पनि गोताखोरको सहायतामा आँधीखोलामा खोजी हुन्छ, यही बीचमा वालिङका युवा टोलीले समेत आँधीखोलामा खोजी गर्छन् । बेपत्ता राजन तथा पक्राउ परेको उनका साथीहरूको कल डिटेल लिने काम भएको बताइएको छ । उनीहरूको सामाजिक सञ्चालको अनुसन्धान जारी रहको प्रहरीको भनाइ छ । पक्राउ परेका एक जनालाई ५ दिन र अर्काेलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न अदालतबाट स्वीकृति छ ।

दुवैलाई छुट्टा–छुट्टै राखेर अनुसन्धान र बयान लिने कामभएको प्रहरीको भनाइ छ । मोबाइल, सामाजिक सञ्जाल तथा अन्य विवरणको थप पुष्टिका लागि डिजिटल फरेन्सिक ल्याबमा तीनै जनाको मोबाइल पठाइएको बताइएको छ ।

परिवारमा शंका
बेपत्ता राजनको परिवार उनी जीवितै आउनेमा शंका गरिरहेका छन् । राजनकी आमा कमला पौडेलले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताले यस्तै कुरातर्फ संकेत गर्दछ । प्रहरीको ध्यान पनि उनको अवस्था पत्ता लगाउनमा नै केन्द्रित रहेको बताइएको छ ।