कोरोना संक्रमण अपडेटः


अर्घाखाँची अस्पतालका सेवा बन्द
यमलाल भुसाल, बुटवल
अस्पताल परिसरमा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिर्पोट आएसँगै अर्घाखाँची अस्पतालको आकस्मिक र प्रसूति सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।
आइतबार दुई जना स्वास्थ्यकर्मीसहित जिल्लामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सक र अन्य सरोकारवालाहरूको बैठकले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभयो ।

अर्घाखाँचीमा पहिलोपटक समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका २ जना स्वास्थ्यकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख गरी १३ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि भएको हो ।

सन्धिखर्क नगरपालिकामा ६ जना, भूमिकास्थान नगरपालिकामा ५ जना र मालारानी गाउँपालिकामा २ जना गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले बताउनुभयो । आइतबार १३ जना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको हो ।

जिल्लाभर ३ सय ४४ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय २४ जना कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । अहिले जिल्लामा ९३ जना क्वारेन्टाइनमा बसेका छन् ।

प्रहरीमा संक्रमण
म्याग्दी, (नेस)
हालै मात्र तालिम सकेर बेनी कार्य क्षेत्रमा पोस्टिङ भएर आएका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यही भदौ १ गते म्याग्दीको बेनी आएर क्वरेन्टाइनमा बसेका २० वर्षीय पुरुष प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि ती जवानलाई अहिले बेनीको खुलामञ्चनजिकै रहेको आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका प्रहरी जवानको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गएको साउन ३१ गतेदेखि कोरोनाको सक्रिय बिरामी नभएको म्याग्दीमा सोमबार पुनः संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिको कन्ट्याक्ट टे«सिङको समेत काम शुरू गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयमा नयाँ आएका ७ जनाको समूहलाई छुट्टै राखिएकोमा एक जनामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो । थप एक जनामा संक्रमण पुष्टि भएसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

नेपाली सेनामा कोरोना
बैतडी, (नेस)
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक नेपाली सेनामा कोरोना पुष्टि भएको छ । बैतडीस्थित हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।

डडेल्धुरा प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा २० वर्षीय सेनाका जवानलाई कोरोना पुष्टि भएको हो । पुष्टि भएपछि ती जवानलाई ब्यारेकभित्रै छुट्टै आइसोलेसनमा राखिएको छ । हनुमानध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएकोमा ८ जनाको रिर्पोट आएको छ ।

संक्रमण पुष्टि भएका ती जवानको कुनै ट्राभल हिस्ट्री नभएको गुल्म स्रोतले जनाएको छ । साथै गुल्ममा आवत–जावतमा पनि रोक लगाइएको छ । गुल्ममा कार्यरत जवानमा कोरोना देखिएपछि त्यहाँ कार्यरत सबै सेनाको कोरोना परीक्षण गर्ने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १२ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसअघि आइतबार पनि बैतडीमा एक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंबाट सरुवा भई इलाका प्रहरी कार्यालय पाटनमा आएका ३१ वर्षीय प्रहरी जवानमा कोरानो पुष्टि भएको हो । ती प्रहरी जवानको आइसोलेसनमा रहेका छन् । यससँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३ सय ३० पुगेको छ ।

दुई दिनपछि बन्यो पीसीआर मेसिन
डोटी, (नेस)
एकाएक बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । पीसीआर परीक्षणका लागि काम भइरहेकै बेला शनिबार दिउँसो एक्कासि मेसिनबाट धुँवा निस्किएपछि काम पूर्णरूपमा ठप्प भएको थियो ।

पीसीआर प्रयोगशालाको बायोसेफ्टी क्याबिनेटमा एक्कासि धुँवा निस्किएपछि विद्युतीय समस्या भएकाले सबै मेसिन बन्द हँदा प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन पुनः सुचारु भएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आउनुभएका बायोमेडिकल इन्जिनियर जय साउदको टोलीले उक्त मेसिन मर्मत गरेको हो ।

पीसीआर मेसिन बिग्रिएसँगै जिल्लामा संकलन गरिएको स्वाब परीक्षणको कार्य पनि दुई दिनसम्म रोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा रु. १ करोड ५० लाखको लागतमा यही भदौ २ गते जडान गरिएको उक्त मेसिन अचानक बिग्रिएको हो ।

मन्त्रालयबाट पीसीआर मेसिन मर्मत गर्ने प्राबिधिक टोली मगाएर बिग्रेको मेसिन बनाई काम सुचारु भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । जडान गरिएको युक्त मेसिन ६ दिन नपुग्दै बिग्रिएपछि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीसमेत अचम्मित भएका थिए ।

जिल्ला अस्पतालमा पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणका लागि जिल्लामा संकलन भएका कयौं स्वाब कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको थियो । कोरोना परीक्षण गर्ने मेसिन बनेपछि जिल्ला अस्पतालमा अहिले अछाम र डोटीमा संकलन गरिएको स्वाबको परीक्षण कार्य भइरहेको र समयमै रिपोर्ट आउने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।