कोरोनाबाट जोगिँदै रथयात्रा गरिने


सुनील महर्जन, ललितपुर

कोरोना संक्रमणबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालना गरी रातो मच्छिन्द्रनाथको रथ तान्ने खाका तयार गरिएको छ ।

कोरोना संक्रमणको बेला रथयात्रा हुने नहुने चिन्ता र चासो सबैतिरबाट व्यक्त भइरहेको स्थितिमा सो खाका तयार पारिएको हो । रथयात्रासँग महŒवपूर्ण पूजाआजा मात्र सम्पन्न गर्ने गरी पानेजु, ज्योतिष र सरारकारवालाले रथयात्राको खाका तयार गरेको बताइएको छ ।

सो खाकाअनुसार रथयात्रा अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, गुठी संस्थान केन्द्रीय कार्यालय र ललितपुर शाखा, जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिकालगायत विभिन्न निकायमा पत्राचार गरिसकेको छ ।

‘भीड नहुने, परम्परा, धर्म र सांस्कृतिक दृष्टिले नगरी नहुने पूजाआज सम्पन्न हुने गरी तयार गरिएको खाकाअनुसार रथयात्राका लागि समन्वय गरिदिने पत्राचार गरेका छौं।’ –दैवज्ञ ज्योतिषी कीर्तिमदन जोशीले भन्नुभयो ।

दैवज्ञ जोशीका अनुसार रथयात्रा सरकार प्रमुखदेखि राष्ट्रप्रमुख सबैको चासो र सरोकार मात्र नभई प्रत्यक्ष सहभागी हुनुपर्ने विषयसँग सम्बन्धित रहेकाले समन्वयका लागि पत्राचार गरेको हो ।

हाल पुल्चोकमा राखिएको रथयात्रा अघि बढाउन रथयात्राको अवधिभर रथ तान्ने रुटमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु, निषेधाज्ञा वा ५० मिटर वरपर कोही पनि नराख्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

त्यसपछि खाकाअनुसार रथ तान्नका लागि ९० देखि १ सय जना व्यक्तिलाई स्वीकृति दिने र उनीहरु स्वास्थ्य मापदण्ड सबै पूरा गरेर रथ तान्नमा खटिनेछन् । आवश्यक मास्क, सेनिटाइजर र पञ्जाको व्यवस्थापनका लागि ललितपुर महानगरपालिकामा आग्रह गर्ने दैवज्ञ जोशीले बताउनुभयो ।

त्यसै गरी रथयात्रा हुने रुटमा बिजुलीको तारबार मिलाउने, सडक मर्मत गर्ने कामको समन्वय महानगरपालिकाले गर्नेछ । रथयात्राका लागि आवश्यक जिन्सी र अन्य सामग्री जुटाउने जिम्मा गुठी संस्थानमा रहने भनिएको छ । शान्तिसुरक्षाको सबै व्यवस्था जिल्ला प्रशासनले मिलाउन समन्वय गर्ने भनिएको छ ।

अघिपछि साँझमा हुने रथयात्रा यसपटक बिहान ६ बजेदेखि नै गर्ने खाकामा उल्लेख गरिएको छ । ‘त्यसको करिब करिब एक घण्टापछि रथ गाबहाल पुग्नेछ । त्यसपछि रथ तान्नेहरुलाई खाना खुवाउनेछौं । गाबहालमा धार्मिक विधि र परम्पराअनुसार गर्नुपर्ने वैष्णवी देवीको पूजा, बन्धुदत्त वज्राचार्यका सन्ततीहरुले गर्नुपर्ने गुरुपूजा र वसुन्धरादेवीको पूजा हुनेछ।’ –ज्योतिष जोशीले भन्नुभयो ।

पूजाआजा सकिएपछि सोही दिन रथ तानेर सुन्धारा पु¥याउने लक्ष्य राखिएको छ । मंगलबजारमा मल्लराजाहरुले रातो मच्छिन्द्रनाथका लागि (सयौं वर्ष पहिले मंगलबजार चोकमा हखुखोला रहेको र त्यहाँ रातो मच्छिन्द्रनाथको धोती फेर्नुपर्ने परम्पराअनुसार) ल्याउने धोती फेर्न र दरबार पूजाका लागि बढीमा ३० मिनेट रथ रोकेर सुन्धारा पु¥याइनेछ । अन्य समयमा गाबहालबाट मंगलबजार हुँदै दुई दिनमा रथ सुन्धारा पु¥याउने गर्दै आएकोमा यसपटक एक दिनमै पु¥याउने लक्ष्य राखिएको छ ।

रथ सुन्धारामा पुगेपछि बाराहीहरुको पूजा र होम गर्नेछन् । त्यसको भोलिपल्ट लगनखेलतर्फ रथ तानिनेछ । अघिपछि सुन्धारामा रथ पुगेको तीनदेखि चार दिनभित्र रथ तानेर लगनखेलमा पु¥याउँथे । रथ लगनखेल पुगेको दिन बुधबार वा एकादशी नपरेमा सोही राती महाबली पूजा गरिनेछ ।

त्यसपछि बिहान रथ तानेर थति टोलमा पु¥याउने योजना रहेको छ । त्यसलगतै बाराहीहरुको देवाली पूजा र रथ जावलाखेलतर्फ तान्ने साइत हेर्ने लगाउने भनिएको छ । त्यस्तै परम्पराअनुसार कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको प्रसाद दिन पठाउने र साइतमा रथ जावलाखेलतर्फ तानिनेछ । त्यसको चार दिनपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमतीमा लग्ने खाका बनाइएको छ ।

रथयात्राको क्रममा ३२ हात लामो रथ दायाँबायाँ नढल्कियोस् भनेर क्रेन र आवश्यकरुपमा डोजरको प्रयोग गर्न सकिने भनिएको छ । धेरै मानिसहरु भीड हुने व्छय्ला, भुयाँ पूजा, नरिवल खसाल्ने र भोटो जात्रा सबै बन्द गरी धार्मिक विधिपूर्वक नगरी नहुने पूजा मात्र गर्ने गरी रथयात्राको खाका तयार गरिएको पानेजु कपिलदेव वज्राचार्यले बताउनुभयो ।

‘रथ बनाइसकेपछि रथारोहण र त्यसलगत्तै रथयात्रा अनिवार्य प्रक्रिया नै हुन् । यसलाई रोक्नु भनेको सयौं वर्षदेखि चल्दै आएको धार्मिक, सांस्कृतिक परम्पराको खेलवाड हुनु हो । यसले भोलि धर्म, संस्कृति मास्नेतर्फ समाज जान सक्ने खतरा रहन्छ।’ –पानेजु वज्राचार्यले भन्नुभयो।

यस खाकालाई लिएर सरोकारवालाबीच व्यापक छलफल भई एक÷दुई दिनमै ठोस निर्णय आउने पनि पानेजु वज्राचार्यले बताउनुभयो । रथयात्रा भदौ १६ गतेदेखि असोज २ गतेभित्रमा सम्पन्न गरिसक्नुपर्ने धार्मिक बाध्यता रहेको छ । असोज २ गतेपछि मलमास शुरु हुने भएकाले रथसँग सम्बन्धित कुनै पनि काम गर्न नहुने परम्परा रहेको छ ।

यसैबीच गत साउन २६ गते पनि सम्बन्धित रकमीहरुको बैठकले रथ तान्नुअघि शान्ति स्वस्ति र क्षमा गर्न गुठी संस्थानलाई आग्रह गरेको छ । रातो मच्छिन्द्रनाथ रथमा विराजमान रहेको अवस्थामा २४ घण्टाभित्र दुईपटक भूकम्पसमेत गएको र बाढीपहिरोका कारण जनधनको क्षतिको अवस्थामा सो धार्मिक कार्य गर्नुपर्ने बैठकले निर्णय गरेको थियो ।

त्यसै गरी बैठकले स्वास्थ्य सुरक्षाको सबै उपाय अपनाएर रथयात्रा अघि बढाउने पनि निर्णय गरेको छ । सो बैठकमा मूल पुजारी कमलराज वज्राचार्य, बाराही नाइके दिलकुमार बाराही, यँवाल नवीन महर्जन (भोला), घःकू नाइके नारायण व्यञ्जनकार, घकू टाई महर्जन, घकू कविन शाक्य, हयगृव भैरवनाथ ३२ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, दैवज्ञ ज्योतिष कीर्तिमदन जोशी र पानेजु नरेन्द्रराज शाक्यको उपस्थितिमा रहेको थियो ।

बैठक र सरोकारवालाको सुझाव महत्वपूर्ण रहेको भन्दै ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले स्थानीय प्रशासनबाट अनुमति दिएमा रथ तान्नका लागि आवश्यक व्यवस्थापकीय कार्यमा खटिने बताउनुभयो ।