विद्यालयको होस्टल क्वारेन्टाइन बनाइने

संक्रमितलाई नभई विदेशबाट आएका गरिबलाई राख्न होस्टललाई क्वारेन्टाइन बनाउँदै


ईश्वरराज ढकाल, काठमाडौं

सरकारले उपत्यकाका विद्यालयको होस्टलमा क्वारेन्टाइन राख्ने भएको छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले उपत्यकाका ठूला विद्यालयको छात्रावास निरीक्षण शुरु गरेको छ ।

आइतबार तीनै जिल्लाका प्रजिअको बैठकले उपत्यकामा क्वारेन्टाइनको अभावका कारण कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने आकलन गर्दै विकल्पका रुपमा विद्यालयको होस्टललाई प्रयोगमा ल्याउन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही रातीदेखि उपत्यकाका ठूला विद्यालय र होस्टलको अवस्था, त्यसको क्षमताको बारेमा जाँचबुझ गरेको थियो ।

–निजी शिक्षण संस्था सञ्चालक भन्छन्– ‘हामीलाई कोरोना अति प्रभावितको सूचीमा नराखे पनि सहयोग गर्छौं ।’

लगत्तै हिजो सोमबार तीनै जिल्लाका प्रहरी परिसर, वृत्त, प्रभाग र चौकीमा कार्यरत प्रहरीले विद्यालयको अवस्था बुझेका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विकल्पका रुपमा विद्यालयको होस्टल प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्वारेन्टाइनका रुपमा छनोट भएका विद्यालयमा कोरोनो संक्रमितलाई राखिँदैन । एक हप्तासम्म राखेर पठाउनका लागि विद्यालयको होस्टललाई क्वारेन्टाइन बनाउन लागेका हौं ।’

सरकारको निर्देशनअनुसार स्थानीय प्रशासनले पहिलो चरणमा विद्यालयको होस्टल र आवश्यकताका आधारमा विद्यालय नै प्रयोग गर्ने तयारी गरिरहेको छ । प्रजिअको निर्देशनमा सोमबार दिनभर तीनवटै जिल्लाका स्थानीय प्रहरीले विभिन्न क्षेत्रका विद्यालयको निरीक्षण गरेका थिए ।

‘माथिको आदेश भन्दै विद्यालयमा प्रवेश गरे, होस्टल भए नभएको बारेमा जानकारी लिएर कति जनालाई व्यवस्थापन गर्न सकिन्छ क्षमताको बारेमा अध्ययन गरेर गए।’ –एक विद्यालय सञ्चालकले भने । ललितपुरका प्रजिअ नारायण भट्टले विद्यालयको छात्रावासमा क्वारेन्टाइन बनाउने बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो । तर, उहाँकै निर्देशनमा मंगलबार दिनभर प्रहरीको विभिन्न टोलीले विद्यालयको निरीक्षण गरेको थियो ।

सांसद एवं प्याब्सनका सल्लाहकार उमेश श्रेष्ठले आफूलाई ललितपुरका प्रजिअ भट्टले फोन गरेर विद्यालयमा क्वारेन्टाइन बनाउन सक्ने वा नसकिने विषयमा जानकारी लिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सीडीओले विद्यालयको अवस्थाबारे सोध्नुभएको थियो, मैले राज्यलाई आपत् परेको अवस्थामा स्थान उपलब्ध गराउने विषयमा सहयोग गर्न तयार रहेको बताएँ ।’

ललितपुरका प्रजिअसँगको कुराकानीमा उहाँले पहिलो चरणमा उपत्यकाका सुविधा सम्पन्न सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन सुझाएको बताउँदै त्यसपछि मात्र निजी विद्यालय प्रयोग गर्न आग्रह गरेको बताउनुभयो ।

पठनपाठन ठप्प भएपछि अर्बौं रुपियाँ नोक्सान बेहोरिरहेका निजी विद्यालयलाई कोभिड–१९ अति प्रावित क्षेत्रका रुपमा सूचीकृत नगरेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो– ‘जहिले पनि सरकारलाई सहयोग गर्ने निजी विद्यालयप्रति सरकारले गरेको व्यवहार खेदजनक छ ।’

‘सरकारलाई आवश्यक परे विद्यालयमा क्वारेन्टाइन राख्ने विषयमा निजी विद्यालय सकारात्मक रहेका छौं।’ –लिट्टल एन्जल्स स्कुलका संस्थापक रहनुभएका श्रेष्ठले बताउनुभयो ।

प्याब्सनका उपाध्यक्ष टीआर ढकालले आपत् परेको अवस्थामा सरकारलाई सहयोग गर्दै आएको जानकारी गराउँदै विद्यालयमा क्वारेन्टाइन राख्ने विषयमा विमति नभएको उल्लेख गर्नुभयो । तर यस विषयमा थप छलफल गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

‘सरकारले निजी विद्यालयप्रति गर्ने व्यवहार फरक भए पनि मानवीयताको हैसियतले निजी विद्यालयले सरकारलाई सहयोग गर्नेछ । आवश्यकताका आधारमा पठनपाठन र प्रशासनिक काममा बाधा नपर्ने गरी विद्यालयको होस्टलमा क्वारेन्टाइन राख्न सहयोग गर्नेछौं।’ –उहाँको भनाइ थियो ।

सरकारले रोजगारीका क्रममा विदेशबाट फर्किएका अति गरिब परिवारलाई लक्षित गरी एक सातासम्म राख्न विद्यालयको होस्टललाई प्रयोग गर्न लागेको हो । स्थानीय प्रशासानले कति विद्यालयका होस्टलमा क्वारेन्टाइन राख्ने भन्ने विषयमा निर्णय भएको छैन ।

प्याब्सनका महासचिव कुमार घिमिरेले उपत्यकाका तीन जिल्लामा करिब सयको संख्यामा ठूला विद्यालयमा व्यवस्थित होस्टल रहेको जानकारी दिनुभयो । सानाठूला गरी करिब दुई सय विद्यालयले व्यवस्थित होस्टल चलाएका हुन सक्ने उहाँको भनाइ छ ।

तर तीमध्ये कतिपय भित्री र बाक्लो शहरभित्र परेकाले क्वारेन्टाइन राख्दा विवाद आउन सक्ने उहाँको दाबी छ । उहाँले भन्नुभयो– ‘क्वारेन्टाइन राख्ने दिने विषयमा विवाद नभए पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषय समस्या पर्न सक्छ । स्थानीय प्रशासनले क्वारेन्टाइन तयार गरेपछि स्थानीय तहले त्यसको व्यवस्थापन गर्नेछ ।’

हिसानका महासचिव लोकबहादुर भण्डारीले सरकारले आवश्यकता महसुस गरे निजी माविले विद्यालयको होस्टल प्रयोग गर्न दिने स्पष्ट पार्नुभयो हिसानले गएको चैतमा विज्ञप्ति जारी गरी करिब ५ हजार कक्षाकोठा क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने जनाएको थियो । लगत्तै पर्यटनमन्त्री योगेश भट्टराईसहितको टोली राजधानीका विभिन्न विद्यालय निरीक्षण गर्न पुगेका थिए ।

प्याब्सन र एनप्याब्सनले विद्यालयको होस्टल प्रयोग गर्न दिने विषयमा छलफल गर्ने जनाएको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आवश्यकताका आधारमा प्रयोग गर्न दिने बताएका छन् । दुवै अध्यक्षले भने– ‘सरकारले कोरोना अति प्रभावित क्षेत्रका रुपमा निजी विद्यालयलाई गणना नगरे पनि आफूहरु सरकारलाई सहयोग गर्न पछि हट्दैनौं ।’

करिब दुई साताअघि बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालयमा रहेको क्वारेन्टाइन हटाउने निर्णय गरिसकेको अवस्थामा स्थानीय प्रशासनले पुनः क्वारेन्टाइन बनाउने अन्तिम तयारी गरेको छ ।

‘आवश्यक परे घर पनि क्वारेन्टाइन हुन सक्छ’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोराना महामारीले भयावह रुप लिएमा आवश्यक परे निजी निवास पनि क्वारेन्टाइन हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘आवश्यक परे तपार्इं र मेरो घरमा पनि क्वारेन्टाइन हुन सक्छ ।’

पछिल्लो समयमा उपत्यकामा दैनिक १ सय ५० को हाराहारीमा कोरोना संक्रमण बढ्न थालेपछि विद्यालयको होस्टललाई क्वारेन्टन बनाउन लागेका अवस्थामा प्रजिअ दाहालले सो चेतावनी दिनुभएको हो ।

‘हेर्नुस् अवस्था भयावह नहोला भन्न सकिन्न, त्यसैले तपाईंले सोध्नुभएजस्तो विद्यालयको होस्टलमा मात्र क्वारेन्टाइन हुँदैन, सरकारले आवश्यक ठानेमा जसको घर पनि प्रयोग गर्न सक्छ । त्यसैले उपत्यकाको पछिल्लो अवस्थाबारे जानकारी लिएर सबै प्रकारको निर्णय गरेका हांै ।’

‘हामीले धेरै विकल्पका बारेमा अध्ययन गरेका छौं, त्यसमध्ये एउटा विद्यालयको होस्टललाई क्वारेन्टाइन बनाउने हो । त्यसपछि नभए जोसुकैको घर भए पनि प्रयोग गर्न विषयमा समेत सोचेका छौं।’ –उहाँको भनाइ थियो । उहाँले सावधानी अपनाए उपत्यकालाई जोगाउन सकिने पनि बताउनुभयो ।