चिउँडोमुनि मास्क लगाएर कोरोनालाई झुक्याउन सकिन्न !


  • डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

जनमानस अटेरी भएकै हो । नसुनेको भनौं भने टेलिफोन, मोबाइल, टिभी, रेडियो, अनलाइन, फेसबुक, पत्रपत्रिका जताततै त्यही कोरोनाकै कुरा छ ।

आखिर बेवास्ता किन भइरहेको छ– मैले पनि बुझ्न सकेको छैन । म अमेरिकामा पनि वेबिनार अन्तरक्रियामा संलग्न हुँदा, त्यहाँका विज्ञसँग कुरा गर्दा त्यहाँका कतिपय अमेरिकीले भाइरस पनि अमेरिकामा आउँछ र भन्ने टिप्पणी गरेको सुनाउँछन् । अमेरिकाका जनताले त त्यस्तो सोच्छन् भने नेपालका जनताले किन लापरबाही नगरून् !
नेपालमा प्रचार नपुगेको हैन, पाँच महिना यसैमा बिताइसक्यौं । यसको मूल जड के रैछ त भनेर मलाई पनि बुझ्न इच्छा छ । किन नमानेको होला? बल्लबल्ल मास्क लगायो भने चिउँडोमुनि, एक्लै बस्दा लगाउने, जब साथी भेटिन्छ बोल्नुपर्ने हुन्छ, त्यो बेलामा मास्क तल झुन्ड्याउने? यो देख्दा अचम्म लाग्छ । यो खालको समस्याको समाधान स्वयं व्यक्तिले नै खोज्नु जरुरी छ । भोक लाग्दा खानुपर्छ भन्ने ज्ञान भएका मानिसले रोगसँग जोगिन मास्क लगाउनुपर्छ, मानवीय दूरी कायम गर्नुपर्छ भन्ने सिक्न अब बाँकी छजस्तो लाग्दैन ।

कि त ट्राफिक प्रहरीले जस्तो सडकमा बसेर जेब्राक्रसिङबाट मात्र बाटो काट्नुस् भनेर माइकिङ गरेर बसेजस्तै, हरेक घरको चोकचोकमा मास्क यसरी लगाउनुस्, माक्स लगाएर मात्र हिँड्नुस् भन्ने र सिकाउने स्वयंसेवक बाटोमा बस्नुपर्ने पो हो कि जस्तो लाग्छ । जताततै प्रचार कोरोनाकै छ, तर धेरैले अनुशरण गरेको पाइन्न ।
लकडाउन खोलिसकेको अवस्थामा कन्ट्रयाक टे«सिङ गर्न पहिलाजस्तो सजिलो छैन । किनभने पहिला सीमित व्यक्ति सीमित ठाउँमा जान्थे । अहिलेको अवस्थामा दिनभरि त्यो व्यक्ति कति ठाउँमा गयो र कसकसलाई भेट्यो भनेर खोज्न त्यति सजिलो छैन । मैले विगतदेखि नै यिनै कुरा भन्दै आएको थिएँ । त्यो समय बितिसक्यो, अब स्वास्थ्य सुरक्षा सबैले अपनाउनुको विकल्प छैन ।

अबको समय भनेको दुई प्रकारले हेरिनुपर्छ। पहिलो नागरिकले के गर्ने र दोस्रोमा सरकारले कसरी सम्बोधन गर्ने ? विशेष गरी जनस्वास्थ्यको मापदण्डको पालना गर्नु–गराउनु र आवश्यकतानुसार व्यवस्थापनमा सुधार गर्दै जानुको विकल्प छैन । राज्यमा कोरोना भाइरस कुन ठाउँमा फैलिरहेको छ र स्थिति कतातिर गइरहेको छ र समुदायस्तरमा हो कि हैन भन्ने कुराको बहस चलेकै छ । सामान्य मान्छेले पनि प्रश्न गर्छ समुदायमा गएको हो कि हैन भन्छ । तपाईं–हाम्रो बीचमा पनि यही कुरा हुन्छ र विज्ञहरु बीचमा पनि यही कुरा हुन्छ । अब जतिसक्दो धेरैभन्दा धेरैमा परीक्षण गरेर यो समुदाय, क्षेत्रमा बढिरहेछ भन्ने पत्ता लगाउने र स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गराउने प्राथमिकतामा राख्नुपर्छ ।

अमेरिकाजस्तो धनी देशमा किन धेरै संक्रमित भइरहेका छन् र मृत्यु बढिरहेको छ भन्ने कुरा जसले पालना गर्नु–गराउनुपर्ने हो उसले नै नगर्दा त्यो अवस्था भएको हो भन्ने प्रस्ट भइसक्यो । त्यसैले योजना राम्रो बनाएर पालना गर्नुपर्ने व्यक्तिलाई बुझाएर भ्रम चिर्दै जान सक्नुपर्छ । नेपालमा पनि कतिपयले अन्दाजका भरमा कुरा गरेर मास्क लगायो भने झन् खराब हुन्छ रे भन्दै प्रश्न गर्छन् । यो मास्क नलगाउने मान्छेको कुराको पछि लाग्यो भने भोलिको अवस्था के होला? यस्ता मान्छेलाई सम्झाईबुझाई गर्ने वातावरण पनि सृजना गर्नुप¥यो ।

यति बेलाको समयमा नागरिकस्तरबाटै लड्नुपर्ने लडाइँ हो । यो लडाइँमा हरेक क्षेत्रका व्यक्तिले आआफ्नो ठाउँबाट लड्नुपर्ने हो । राजनीतिक दल, भ्रातृ संगठन, युवा संगठन, सामाजिक संघसंस्थामा आबद्ध व्यक्तिहरुले स्वयंसेवीरुपमा आफू, आफ्नो परिवार, टोल, समाज र देशका लागि एकजुट भएर लड्नुपर्ने हो । यस्ता बेलामा बोल्ने, लेख्ने, उपचार गर्ने काम सँगसँगै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी फिल्डमै गएर हुन्छ कि भर्चुअल विधि प्रयोग गरेर हुन्छ जनचेतनामै जोड दिनुपर्छ ।

यति बेला सूचना र सञ्चारको विधिलाई जतिसक्दो धेरै प्रयोग गरिनुपर्छ । यस्ता कार्यले सरकारलाई बलियो बनाउनुका साथै थप जिम्मेवारीका साथ दबाब सृजना हुन्छ । कोरोना संक्रमित जसरी बढेर समस्या थपिँदै छ यसले आमजनमानसलाई नै घाटा हुने हुनाले सबै एक भएर सबै ठाउँबाट स्वास्थ्य सुरक्षाको पालना गर्दै समाधानका लागि उत्रनुपर्छ ।

स्वास्थ्य सुरक्षाका उपायहरु ‘म’बाट शुरु गरेर ‘हामी’ हुँदै देशव्यापी बनाउनुपर्छ । यसका लागि राजनीतिक दल, संस्था र संगठनहरुले अभियान चालिहाल्नुपर्छ । यसो गरिएमा नै देशलाई कोरोनाबाट मुक्त गर्न सकिन्छ । आम नागरिकले यति काम गर्न सके कोरोनाका विषयमा जति डरलाग्दो तरिकाले मान्छेहरुले सोचिरहेका छन्, त्यो टर्न सक्छ, त्यसमा तत्कालै परिवर्तन आउन सक्छ । तर यो अवस्था ल्याउनका लागि सबैले अनुशासित भएर हरपल नियमको पालना गर्नुपर्छ ।
(प्रस्तुति ः भगवती तिमल्सिना, कुराकानीमा आधारित)